मिटरब्याजसम्बन्धी ४३८ उजुरी फर्छ्योट

अनलाइनबाट दर्ता भएका एक हजार ३२१ उजुरीमध्ये छलफल विधिबाट ४३८ वटा उजुरी पीडितको पक्षमा फर्छ्योट गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए।

पर्सा– जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी परेको उजुरीमध्ये हालसम्म ४३८ उजुरी फर्छ्योट गरेको छ। अनलाइनबाट दर्ता भएका एक हजार ३२१ उजुरीमध्ये छलफल विधिबाट ४३८ वटा उजुरी पीडितको पक्षमा फर्छ्योट गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिए।

यस्तै सहमति नभएपछि दुई मुद्दा दर्ता भएको जनाएको छ। दर्ता भएका उजुरीमध्ये ८४५ उजुरीको छानबिन गर्दा ४३८ वटामा दुवै पक्षबीच सहमति भएर फर्छ्योट भएको सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले बताए। उनका अनुसार छानबिनपश्चात ८४ कित्ताको १६ बिघा छ कठ्ठा आठ धुर जग्गा र दुवै पक्षको सहमतिमा आठ करोड ७२ लाख ६४ हजार ६१ रुपैयाँ फिर्ता गराइएको छ। 

मिटरब्याजीविरुद्ध हाल अनलाइनबाट दर्ता भएका उजुरीमा सबैभन्दा बढी लेनदेन र जग्गा–जमिनसम्बन्धी मिटरब्याज पीडितको उजुरी बढी छ। कसै–कसैले थोरै रकम दिएर त्यसबापत बढीको कपाली तमसुक गरेको, दोब्बर तेब्बरसम्म बढीको बैंक चेक धितोबापत राख्ने प्रवृत्ति रहेको पाइएको उनले बताए। परेको उजुरीको छानबिनका क्रममा दुवै पक्षबाहेक कपाली वा अन्य कागजात लेख्ने लेखापढी, साक्षीलाई समेत कार्यालयमा बोलाएर आवश्यक सोधपुछ गर्ने, आवश्यक प्रमाण खोज्ने र सहमतिका लागि अधिकतम् प्रयास गर्ने गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताए।

छानबिनका क्रममा लेनदेन गर्नेहरूको कागजमा उल्लेख रहेको रकम लेनदेन गर्ने हैसियत तथा आवश्यकता र स्रोत रहे/नरहेको समेत अनुसन्धान गर्ने गरिएको प्रजिअ रेग्मीको भनाइ छ।

“उजुरीको छानबिन गर्दा सकेसम्म सहमतिमै समस्या समाधान होस् भन्ने नै हाम्रो चाहना रहन्छ”, प्रजिअ रेग्मीले भने, “त्यहीअनुसार हामीले उजुरीकर्ता र आरोपित दुवै पक्षलाई सहमतिका छलफल गराउँछौँ, अहिलेसम्म धेरैजसोमा सहमतिबाटै उजुरीको फर्छ्योट भइरहेको छ, यो राम्रो पक्ष हो।”