पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक बत्ती बाल्ने प्रविधि सञ्चालनमा

१० लाख रुपैयाँ लागतमा बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा यस्तो प्रविधिको जेब्रा क्रसिङ राखिएको हो।

काठमाडाैँ– काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ।

१० लाख रुपैयाँ लागतमा बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक बत्ती बाल्ने प्रविधिको क्रसिङ राखिएको हो। ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट सोमबारबाट सञ्चालनमा ल्याइएको हो। सञ्चालनमा आएसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बटन थिचेपछि ५ सेकेन्डमा हरियो बत्ती बल्ने र तोकिएको ३० सेकेन्डभित्र पैदलयात्रुले जेब्रा क्रसिङ गरिसक्नुपर्ने बताए। उनले प्रयोग गर्न नजानेको अवस्थामा दुर्घटना बढ्ने र प्रयोग गर्न जान्दा राम्रो हुने पनि बताए।

उनले भने, "यो उपयुक्त छ र यसलाई प्रयोग गर्न नजानेको अवस्थामा दुर्घटना बढ्छ, प्रयोग गर्न जान्दा त्यसले सूचना देखाउँछ, त्यसलाई ख्याल गरेर बाटो काट्नुपर्छ।"

त्यस्तै बागमती प्रदेशका सांसद दीपेन्द्र श्रेष्ठले अल्पकालीन रूपमा जेब्रा ट्राफिक राखे पनि दीर्घकालीन रूपले यो हाइवेमा अर्थपूर्ण नहुने बताए। उनले यसका लागि जनप्रतिनिधिहरूले 'अन्डर पास वे' बाटो बनाउने तयारी गरिरहेको पनि बताए। साथै उनले आगामी वर्षमा दीर्घकालीन रूपमा समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।