संखुवासभामा निर्मित २२० केभीको वसन्तपुर सबस्टेसन सञ्चालनमा

कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत संखुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको हो। 

काठमाडाैँ– कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत संखुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ। 

नेपाल विद्युत् प्राधिकरणले समुद्र सतहबाट २ हजार ४५० मिटर उचाइमा निर्माण गरेको २२०/१३२/३३ केभी क्षमताको वसन्तपुर सबस्टेसन आइतबार चार्ज गरी सञ्चालनमा ल्याएको हो। आयोजना अन्तर्गत नै सुनसरीको इनरुवा र संखुवासभाको तुम्लिंटार तथा बानेश्वर २२० केभी सबस्टेसन गत वर्षको साउनबाटै सञ्चालित छन्। सबस्टेसनहरू निर्माणका लागि भारतीय कम्पनी एल एन्ड टीसँग २०७५ को असारमा २ करोड ६१ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र भोजपुर जिल्लामा निजी क्षेत्रले निर्माण गर्ने र गरिरहेका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र वितरणका लागि मेरुदण्डका रूपमा पूर्वाधार तयार भएको बताए।

“प्रसारण लाइन र सबस्टेसन तयार भयो, तर जलविद्युत् आयोजनाहरू निर्माण हुन नसक्दा २२० केभी लाइन कम क्षमतामा चलाउने पर्ने अवस्था छ", कार्यकारी निर्देशक घिसिङले भने, "कोशी प्रदेशका पहाडी जिल्लाहरूमा उत्पादित विद्युत् इनरुवा सबस्टेसनमार्फत मोरङ र सुनसरी जिल्ला आपूर्ति गरिने हुँदा त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि उत्पादन स्रोत भएको छ जसले गर्दा भोल्टेज सुधार भइ विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ।”

वसन्तपुर सबस्टेसनमा तुम्लिंटार र ताप्लेजुङको ढुङ्गेसाँघु सबस्टेसनबाट विद्युत् आउने छ। वसन्तपुरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित इनरुवा सबस्टेसनसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गरी टावरको एकतर्फ मात्र तार तानेर सिंगल सर्किट लाइन सञ्चालनमा ल्याइएको छ।

वसन्तपुरबाट बानेश्वर हुँदै तुम्लिंटारसम्म करिब ३० किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किट निर्माण सम्पन्न भइसकेको छ। इनरुवा–वसन्तपुर–तुम्लिङटार प्रसारण लाइनको लम्बाइ १०५ किलोमिटर छ। डबल सर्किट टावर निर्माण गरिएको छ भने हाल सिंगल सर्किट तार मात्र तानी लाइन सञ्चालनमा ल्याइएको छ।

नेपाल सरकारको लगानी र भारत सरकारको निर्यात आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत तुम्लिंटार, वसन्तपुर र बानेश्वरमा सबस्टेसन र प्रसारण लाइनको निर्माण गरिएको हो। अरुण तथा तमोर नदी र त्यसका सहायक खोलानालामा निर्माण हुने र भइरहेका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् कोशी  करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ। कोशी प्रदेशका भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोसी करिडोरको निर्माण गरिएको हो।

कोशी करिडोर अन्तर्गत वसन्तपुर–ढुंगेसाँघु (ताप्लेजुङ) खण्ड प्रसारण लाइन र ढुंगेसाँघुमा १३२ केभी सबस्टेसन निर्माणाधीन छन्। करिब ३४ किलोमिटर डबल सर्किट प्रसारण लाइनमा पर्ने १२८ वटा टावरमध्ये ६ वटाको मात्र निर्माण बाँकी छ। एउटा सर्किटको २६ किलोमिटर तार तानिएको प्रसारण लाइन आगामी माघभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।