सोमबार नेप्सेसँगै घट्यो कारोबार रकम

आइतबार उच्च अंकले बढेको नेप्से परिसूचक सोमबार दोहोरो अंकले घटेको छ।

काठमाडौँ– यो साता कारोबारको पहिलो दिन उच्च अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार दोस्रो दिन दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ११.२७ अंकले घटेर १८९६.६७ को बिन्दुमा कायम भएको हो।

२९० कम्पनीको ६० लाख १७ हजार ३९७ कित्ता शेयर ५२ हजार ४८० पटक खरिद बिक्री हुँदा एक अर्ब ७५ करोड ४७ लाख ५० हजार ७५५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। आइतबार २ अर्बमाथिको करोबार भएको थियो।

होटल तथा पर्यटन समूह ०.२५, लगानी समूह ०.४९, म्युचुअल फन्ड ०.०१ र व्यापार समूह ०.३७ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै घट्नेमा जीवन बीमा समूह ०.८९ र बैंकिङ समूह ०.८४ प्रतिशतले घटेको छ।

अपर स्याङ्गी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सोमबार सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ८.०४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको सात करोड ७७ लाख ६३ हजार ५८५ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै प्रभु बैंक प्रमोटर शेयर चार लाख ९७ हजार ३६९ कित्ता किनबेच भएको छ।