अर्थतन्त्र चलायमान बनाउन सामाजिक सुरक्षा कोषमा संकलित रकम उत्पादन र पूर्वाधारमा लगानी गरौँ : निजी क्षेत्र

निजी क्षेत्रले सामाजिक सुरक्षा कोषजस्ता रकम संकलन हुने कोषको सम्पूर्ण रकम उत्पादनमूलक क्षेत्रमा लगानी हुन सके अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने बताएको छ।

काठमाडौँ– निजी क्षेत्रले सरकारसँग सामाजिक सुरक्षा कोषमा संकलन भएको रकम उत्पादन र पूर्वाधार परियोजना लगानी गर्न आग्रह गरेको छ।

सोमबार छैटौँ सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा निजी क्षेत्रका तीन छातासंगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिले वर्तमान अर्थतन्त्रमा आएको समस्या समाधानका लागि सामाजिक सुरक्षा कोषमा जम्मा भएको ४५ अर्बभन्दा बढी रकम उत्पादन, रोजगारी र पूर्वाधार परियोजनामा लगानी गर्न आवश्यक रहेको बताएका हुन्।

तीन संस्थाका अध्यक्षले सरकारले सामाजिक सुरक्षा कोषजस्ता रकम संकलन हुने कोषको सम्पूर्ण रकम उत्पादनमूलक क्षेत्रमा लगानी हुन सके अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने धारणा राखे।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोषमा संकलन भएको रकमलाई उत्पादनमा लगानी गर्नुपर्ने बताए। छोटो समयमा सामाजिक सुरक्षा कोषमा ४५ अर्ब फन्ड संकलन भएको र यसलाई उत्पादनमा लगानी गर्न सके मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ।

“सरकारलाई के भन्न चाहन्छु भने हामीले सामान्य रूपमा कोषमा जम्मा भएको ४५ अर्ब फन्डलाई बैंकमा मुद्दती खातामा राखेको अवस्था छ। नेपालको अहिलेको आवश्यकताको हिसाबले कार्यविधि छैन तर बैंकमा राखेर ब्याज खानुभन्दा उत्पादनमूलक, रोजगारी पूर्वाधारमा  क्षेत्रमा लगानी गर्ने गरी कार्यविधि परिमार्जन गर्न आवश्यक छ,” उनले भने।

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कार्यलाई  नियमित गराउन सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालको भनाइ पनि उस्तै रह्यो। अध्यक्ष अग्रवालले सामाजिक सुरक्षा कोषमा संकलन भएको रकमलाई उत्पादनशील क्षेत्र तथा पूर्वाधारमा लगानी गर्नुपर्नेमा जोड दिए। “कोषमा जम्मा भएको रकम उत्पादनशील क्षेत्र तथा पूर्वाधारमा लगानी लगाउन पाउने हो भने यसले समग्र अर्थतन्त्रमा योगदान गर्न सक्छ,” उनले भने।

उनले मुलुकको समग्र आर्थिक विकासको लागि बलियो र स्थायी श्रम सम्बन्ध आवश्यक रहेको बताए। उनले  विगत केही वर्षदेखि श्रमिक र रोजगारदाता बीचको सम्बन्ध सुधार हुँदै गएको दाबी गरे। उनले सामाजिक सुरक्षा कोष कार्यान्वयनमा शुरूआतमा अस्पष्ट हुँदा केही समय अन्योलको सिर्जना पनि अहिले सुधार हुँदै गएको बताए।

उनले सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोष मर्ज नभई एकसाथ सञ्चालनमा रहँदा केही अन्योल भइरहेको बताए। उनले सामाजिक सुरक्षा कोषमा निजामती कर्मचारी र नेपाल सेना प्रहरीलाई पनि आबद्ध गराउन माग गरे।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि सरकारले कोषमा संकलन भएको रकम बैंकमा ब्याज कमाउनेभन्दा मुलुकको अर्थतन्त्रको सूचक नकारात्मक भएको अवस्थामा देशमा भएको प्राकृतिक स्रोतसाधनलाई प्रवर्द्धन गर्ने उद्योगमा लगानी गर्नुपर्ने आवश्यकता रहेको बताए।

“कोषमा आबद्ध भएको रकम बैंकमा ब्याज कमाउने भन्दा मुलुकको अर्थतन्त्रको सूचक नकारात्मक भएको अवस्थामा देशमा भएको प्राकृतिक स्रोतसाधनलाई प्रवर्द्धन गर्ने उद्योगमा जलविद्युत परियोजनामा लगानी गर्न सकियो भने देशलाई पनि फाइदा हुनेछ,” उनले भने, “पुँजीलाई चलायमान बनाउने काम गर्नुपर्छ । रोजगारदाता र श्रमिक दुवैलाई प्रोत्साहन हुने काम गर्न आवश्यक छ।”

ट्रेड युनियनहरूको छाता संगठन संयुक्त ट्रेड युनियन महासंघ नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठले सरकारले कोषमा आबद्ध भएका ९ लाखलाई निरन्तरता दिने चुनौती रहेको बताए। उनले नेपाली श्रमिकहरूलाई व्यवहारमा उतार्ने खालका कानूनहरू आवश्यक रहेको बताए।

पछिल्लो पाँच वर्षमा योगदानकर्ताबाट सामाजिक सुरक्षा कोषमा ४४ अर्ब ८५ करोड जम्मा भएको छ। यसबाट योगदानकर्तालाई तोकिएको जोखिम सम्बोधन गर्दा ६ अर्ब ४४ करोड रुपैयाँ भुक्तानी भइसकेको कोषले बताएको छ। जसमा सबैभन्दा बढी औषधोपचारमा मात्रै ७६ करोड १२ लाख रुपैयाँ, दुर्घटनामा ८ करोड ७५ लाख रुपैयाँ  र अवकाश हुनेहरूमा ५ अर्ब ४८ करोड रुपैयाँ खर्च भएको कोषले जनाएको छ।