कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले अन्य विषयमा छलफल गर्न सकिए पनि राजतन्त्र फर्काउने विषयमा कुनै कुरा नहुने बताए।

त्रिवेणी (नवलपरासी)– सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कसैले चाहँदैमा राजतन्त्र फर्केर नआउने बताएका छन्।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दलदलेमा नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला भेलालाई सोमबार सम्बोधन गर्दै सभापति देउवाले कसैले माग गर्दैमा राजतन्त्र नफर्किने बताएका हुन्।

सभापति देउवाले संविधानसभाले राजा हटाउने निर्णय गरिसकेकाले राजतन्त्र अब नफर्किने स्पष्ट पारे। “पूर्वराजा फर्कने कुरा छैन, संविधानसभाले राजा हटाउने निर्णय गरिसकेको छ, कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन,” उनले भने।

सभापति देउवाले अन्य विषयमा छलफल गर्न सकिए पनि राजतन्त्र फर्काउने विषयमा कुनै कुरा नहुने बताए। सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै मिलेर लाग्नुपर्नेमा जोड दिए।

नेपाली कांग्रेस महामन्त्री गगन थापाले राजतन्त्रका बारेमा वकालत गर्नु भोलिका लागि घातक हुने बताए। जिल्ला सम्मेलनमा कांग्रेसका अन्य विभिन्न नेताहरूले सम्बोधन गरेका थिए।