समितिमा विचाराधीन विधेयक अघि बढाउन सभामुखको सक्रियता

सोमबार नौ वटा समितिका सभापति र समिति–सचिवबीच विचाराधीन विधेयकको अवस्था र समितिको भावी कार्ययोजनाबारे सभामुख घिमिरेले छलफल गरेको संसद् सचिवालयका प्रवक्ता, सहसचिव एकराम गिरीले जानकारी दिए। 

काठमाडौँ– प्रतिनिधिसभाका विभिन्न १० वटा संसदीय समितिमा विचाराधीन रहेका विधेयकलाई अघि बढाउने विषयमा सभामुख देवराज घिमिरेले सक्रियता देखाएका छन्। सोमबार सभामुख घिमिरेले प्रतिनिधिसभाका समिति सभापतिसँग छलफल गरेका हुन्।

सोमबार नौ वटा समितिका सभापति र समिति–सचिवबीच विचाराधीन विधेयकको अवस्था र समितिको भावी कार्ययोजनाबारे सभामुख घिमिरेले छलफल गरेको संसद् सचिवालयका प्रवक्ता, सहसचिव एकराम गिरीले जानकारी दिए। 

“समिति सभापतिहरूसँगको आयोजना भएको यो दोस्रो बैठक हो। समितिले गरिरहेको कामको अवस्थालगायतका बारेमा छलफल भएको छ,” उनले भने, “समितिमा रहेका विधेयक कसरी अघि बढिरहेका छन्? संशोधनसहितको अवस्था के हो? भावी कार्यक्रमका बारेमा सभापतिले आफ्नो भनाइ राख्नुभयो। उठेका जिज्ञासाको जवाफ सभामुखले दिनुभयो।” 

उनका अनुसार १० वटा समितिमा १२ विधेयक छलफलको क्रममा रहेका छन्। विचाराधीन विधेयकलाई अघि बढाउन सभामुख घिमिरेले आग्रह गरेका छन्।

स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशीले समितिका काम कारबाहीका सन्दर्भमा सभामुखले छलफल गरेको बताए। 

“यो बीचमा के–के प्रगति भयो? मन्त्रालयसँग सम्बन्धित विषय, विधेयकमाथिको छलफल के भइरहेको छ? आउँदो हिउँदे अधिवेशनका लागि कति तयारी गर्दै हुनुहुन्छ भनेर उहाँले छलफल गर्नुभएको हो,” उनले भने, “समितिका सभापतिले भावी कार्ययोजना र समितिमा देखा परेका समस्याबारे सभामुखलाई ब्रिफिङ गरेर लिखित रिपोर्ट दिएका छौँ।”

उनका अनुसार बैठकमा समितिले दिने निर्देशन कार्यान्वयन नहुने अवस्था रहेको विषयमा पनि छलफल भएको छ।

“समितिको कार्यक्षेत्र बाझिने समस्या पनि छन्। कतिपय कुराहरू अर्थसँग बाझिने, कतिपय उद्योग लगायतसँग पनि बाझिने समस्या देखिएको विषयमा पनि कुराकानी भएको छ,” उनले भने, “यी सबै समस्यालाई समाधान गरेर विधेयकलाई अघि बढाउने विषयमा नै छलफल भएको छ।”

संसद्ले कानून निर्माणमा गति लिन नसकिरहेका बेला सभामुखले सक्रियता बढाएका हुन्। कतिपय विधेयक दर्ता नै हुन सकेको अवस्था छैन भने दर्ता भएका विधेयक पनि छलफलमा जान सकेका छैन। समितिमा पुगेका विधेयकमाथि पनि दफावार छलफलमा बाधा परिरहेको संसद् सचिवालयकै कर्मचारी बताउँछन्।

“कानून निर्माणमा त निकै ढिलासुस्ती भएको छ। समितिमा आएका विधेयकमाथि पनि छलफलको काम सुस्त छ,” एक समितिका सचिवले भने, “प्रभावकारी रूपमा काम नहुँदा समस्या देखिएको छ। त्यही भएर सभामुखले केही सक्रियता देखाउनुभएको हो।”

सोमबारको छलफलमा सभामुख घिमिरेले यस्तै अवस्था कायम रह्यो भने आगामी संसद्को अधिवेशन प्रभावकारी नहुने बताए। उनले संसद् र समितिका कामकारबाही अतिरिक्त समयमा सञ्चालन गर्नका लागि सरकारले बजेट विनियोजनमा नियन्त्रण गरेकाले पनि समस्या भइरहेको बताए।

सभामुख घिमिरेले संसदीय समितिहरूमा विषयवस्तु दोहोरिने र कार्यक्षेत्र स्पष्ट नहुने समस्या रहेको भन्दै त्यसमा समितिका सभापतिले नै समन्वय गरेर समाधान गर्नुपर्ने धारणा राखे। सभामुखले यसअघि भदौ १३ गते पनि समितिका सभापतिसँग छलफल गरेका थिए। भदौ ११ गते प्रतिनिधिसभाको १० वटा विषयगत समितिका सभापतिहरू सर्वसम्मत रूपमा चयन भएका थिए।

यसअघि समिति गठनमै ढिलाइ भएका कारण विधेयकमा प्रगति नदेखिए पनि पछिल्लो समय सभापति चयन भइसकेपछि पनि त्यसले प्रभावकारी रूपमा गति लिन सकिरहेको छैन। सोमबारको छलफलमा कानून, न्याय तथा मानवअधिकार समिति सभापति विमला सुवेदीबाहेक अन्य ९ वटा समितिका सभापति सहभागी थिए।