कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री बुधबार दुबई जाँदै

प्रधानमन्त्री दाहालले डिसेम्बर १–२ मा आयोजना हुने ‘कोप २८–विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही मंसिर १३ गते बुधबार संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्ने भएका छन्।

कोप–२८ मंसिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२) सम्म दुबईमा हुँदैछ। प्रधानमन्त्री दाहालले डिसेम्बर १–२ मा आयोजना हुने ‘कोप २८–विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनले डिसेम्बर २ मा उच्चस्तरीय सत्रमा राष्ट्रिय वक्तव्य दिने छन्।

प्रधानमन्त्री दाहालले संयुक्त अरब इमिरेट्सको ५२औँ संघीय दिवस समारोह र ‘जायेद सस्टेनाबिलिटी प्राइज अवार्ड समारोह’मा पनि सहभागी हुने कार्यक्रम छ। उनले डिसेम्बर २ मा जलवायु परिवर्तनमा नेपालको आवाज उठाउनका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय अजेन्डालाई प्रवर्द्धन गर्न ‘हिमालको आह्वान: जलवायु संकटबाट हामीलाई कसले बचाउँछ?’ शीर्षकको उच्चस्तरीय कार्यक्रम आयोजना गर्दै हुनेछ।

प्रधानमन्त्री दाहालले उच्चस्तरीय सत्रको अवसरमा सम्मेलनमा सहभागी विभिन्न मुलुकका राष्ट्रप्रमुख/सरकार प्रमुखका साथै अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने तालिका रहेको मन्त्रालयले जनाएको छ। उनले अबुधाबीस्थित नेपाली राजदूतावासको भ्रमणका साथै नेपाली समुदायसँग अन्तरक्रिया र नेपाल–यूएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गंगा दाहाल, वन तथा वातावरण मन्त्री डा. वीरेन्द्रप्रसाद महतो र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी हुने छन्। प्रधानमन्त्री दाहाल भ्रमण सम्पन्न गरी डिसेम्बर ३ मा स्वदेश फर्किने छन्।