भारतको गुजरातमा चट्याङ र असिनापानीबाट २४ जनाको मृत्यु

भारतको गुजरातमा चट्याङ र असिनापानीबाट २४ जनाको मृत्यु भएको छ। गुजरातका केही क्षेत्रमा २४ घण्टाको अवधिमा १४४ मिलिलिटरसम्म वर्षा भएको बताइएको छ।

तस्वीर : टाइम्सनाउन्यूजडट्कम

भारतको पश्चिमी राज्य गुजरातमा चट्याङ, आँधी र असिनापानीका कारण कम्तीमा २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

बेमौसमी वर्षा र आँधीले भौतिक संरचनामा क्षति पुर्‍याएको छ, साथै कैयौँ गाईबस्तु मरेका छन्। जाडो याममा गुजरातमा यति ठूलो आँधीबेहरी आउने अपेक्षा गरिएको थिएन।

भारतमा हरेक वर्ष बाढी र चट्याङका कारण दर्जनौँ मानिसको मृत्यु हुने गरेको भए तापनि वैज्ञानिकहरूले बढ्दो विश्वव्यापी तापक्रम वृद्धिले अकल्पनीय मौसमी घटनाहरू निम्त्याइरहेको बताएका छन्।

मौसमविद्का अनुसार जमिन र समुद्र सतहको बढ्दो तापक्रमले माथिल्लो तहको हावालाई न्यानो पार्छ र चट्याङ र आँधीबेहरी ल्याउन सघाउँछ। भारतमा अझै पनि ठूलो असिनापानी पर्ने अनुमान गरिएको बीबीसीले उल्लेख गरेको छ।

भारी वर्षाका कारण कम्तीमा २४ जनाको मृत्यु भएको र तीमध्ये १८ जना चट्याङका कारण मृत्यु भएको गुजरात राज्यका अधिकारीहरूले आइतबार एक विज्ञप्ति जारी गरी जानकारी दिएका छन्। वर्षा र चट्याङका कारण कम्तीमा ४० वटा जनावर मारिएका छन्।

गुजरात राज्यका केही क्षेत्रमा २४ घण्टाको अवधिमा १४४ मिलिलिटरसम्म वर्षा भएको सरकारी तथ्यांकलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

अहमदाबादस्थित भारतीय मौसम विज्ञान विभागकी प्रमुख मनोरमा मोहन्तीका अनुसार गुजरातमा तीनवटा मौसमी प्रणाली आपसमा ठोक्किँदा चट्याङ परेको हो।

अरब सागरमा बहने पूर्वीय वायु, पश्चिमी हिमालय क्षेत्रबाट उत्पन्न चिसो वायु र दक्षिण गुजरातमाथिको चक्रवातका कारण चट्याङ, बेमौसमी वर्षा र आँधीबेहरीको अवस्था सिर्जना भएको उनको भनाइ छ।