२०५८ सालमा सञ्चालनमा आएको भुर्षा सिँचाइ नहर मर्मतमा पछिल्लो समय सरकारले बजेट विनियोजन गरेको छैन। त्यसैले किसान आफैँ मर्मत तथा सरसफाइमा जुटेका छन्।
टीकापुर– कैलालीको जानकी गाउँपालिका–७ का किसानले ११ किलोमिटर लामो नहर सफा गर्न थालेका छन्। त्यस क्षेत्रका करिब एक हजार किसानले भुर्षा सिँचाइअन्तर्गतको नहर सफाइ गर्न थालेका हुन्।
उनीहरूले दैनिक डेढ किलोमिटरभन्दा बढी सफाइ गर्ने गरेका छन्। ४८५ हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्याउने उक्त नहर झारजंगल र पटानी हुँदा खेतमा पानी अभाव हुन थालेपछि किसान आफैँ नहर सफा गर्न थालेको भुर्षा कुला सिँचाइ समितिका अध्यक्ष गोपाल गिरीले बताए।
“११ किलोमिटर लामो कुलो चार दिनदेखि सफा गर्दैछौँ,” अध्यक्ष गिरीले भने, “एक हजारभन्दा बढी किसान सहभागी छौँ। गहुँ तथा तोरीखेतीका लागि आवश्यक पानी उपलब्ध गराउने लक्ष्य छ।” भुर्षा सिँचाइ कार्यक्रमलाई सरकारले सहयोग नगरेको उनको गुनासो छ।
“२०५८ सालदेखि सञ्चालनमा आएको भुर्षा सिँचाइ कार्यक्रममा पछिल्लो समय एकपटक पनि बजेट आएको छैन,” गिरीले भने, “ किसानका समस्याका बारेमा राजनीतिक दल र जनप्रतिनिधि गम्भीर छैनन्। हजारौँ किसानको खेतीपाती सिँचाइ गर्ने कुलो सुधारमा कसैले सहयोग नगरेकाले किसान आफैँ जुटेका हौँ।”
कुलाअन्तर्गत १२ गाउँ छन्। गाउँको भागअनुसार उनीहरूले कुलो सफा गर्ने गरेका छन्। कुलो सफाइ कार्यक्रममा सिँचाइ समितिका पदाधिकारी र गाउँका बडघरले नेतृत्व लिएर काम गरिरहेका छन्। बडघरले गाउँअनुसारको कुलाको क्षेत्रफल छुट्याइदिने गर्छन्। कुला सफा गर्दा महिलाको पनि उत्तिकै सहभागिता छ।
“महिला–पुरुष भन्ने कुरा भएन सबै मिलेर कुला सफाइ गर्दैछौँ,” स्थानीय फूलबसिया चौधरीले भने, “कतैबाट सहयोग नभएपछि किसान आफैँ नहर सफा गर्न लागेका छौँ।” कुलाप्रति तीनै तहका सरकारले बेवास्ता गरेको भन्दै उनीहरू आक्रोशित छन्।
“किसानका बारेमा सुन्ने कोही भएनन्,” स्थानीय खैरे विश्वकर्माले भने, “११ किलोमिटर कुलाले गर्ने सिँचाइ र किसानका बारेमा सोच्ने कोही भएनन्। खेतीपातीमै भविष्य खोजेकाहरू कति चिन्तित छन्, नेतृत्वलाई चासो छैन।”
बडघरका किसान सबै मिलेर सिँचाइका लागि चार दिनदेखि कुलो सफा गर्न थालेको अर्का किसान भागीराम चौधरी बताए। “कुलामा माटो धेरै थुप्रिएको थियो, हामीले धेरै मेहनत गरेर सफा गरेका छौँ,” उनले भने, “अब सिँचाइ सहज हुने अपेक्षा छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
