अस्ट्रेलियाले जनवरी १ देखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने

अस्ट्रेलियामा १४ देखि १७ वर्ष उमेर समूहका करिब सात बालबालिकामा एक जनाले भेप प्रयोग गर्ने गरेको सरकारी विज्ञप्तिमा उल्लेख छ।

अस्ट्रेलिया सरकारले जनवरी १ देखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। 

स्वास्थ्यमन्त्री मार्क बटलरले युवा वर्ग भ्यापिङमा लाग्ने क्रम बढेपछि यस्तो निर्णय गरिएको बताए। “यसलाई एउटा मनोरञ्जक उत्पादनका रूपमा बिक्री गरिएको थिएन, विशेषगरी हाम्रा बालबालिकालाई लक्षित गरिएको थिएन तर यो त्यही बन्यो,” उनले भने, “अधिकांश भेपमा निकोटिन हुन्छ र बालबालिका दुर्व्यसनी बन्दैछन्।”

१४ देखि १७ वर्ष उमेर समूहका करिब सात बालबालिकामा एक जनाले भेप प्रयोग गर्ने गरेको सरकारी विज्ञप्तिमा उल्लेख छ। यस्तै, भेप प्रयोग गर्ने युवा अस्ट्रेलियालीमा धूमपान गर्ने सम्भावना करिब तीन गुणा अधिक हुने बताइएको छ। 

सरकारले डिस्पोजेबल भेपको उत्पादन, विज्ञापन वा आपूर्तिलाई गैरकानूनी घोषणा गर्नका लागि सन् २०२४ मा कानून पनि ल्याउनेसमेत जनाएको छ। भेपमाथिको आयात प्रतिबन्धलाई अस्ट्रेलियाली मेडिकल एसोसिएसनले स्वागत गरेको छ।

“अस्ट्रेलिया धूमपानको दर र त्यसपछि हुने स्वास्थ्य हानिलाई कम गर्न विश्वमा अग्रणी रहेको छ, त्यसैले भेपिङलाई रोक्न र भविष्यको हानिलाई रोक्नका लागि सरकारको निर्णायक कदम अत्यन्त स्वागतयोग्य छ,” एसोसिएसनका अध्यक्ष स्टिभ रोब्सनले भने।