मतदान गर्न नपाएपछि चित्रबहादुरको गुनासो– कानूनमै त्रुटि भयो

बागलुङको मतदाता नामावलीमा नाम नभएपछि केसीले मतदान गर्न नपाएका हुन्। उनी रुपन्देही बस्न थालेपछि आफ्नो नाम पनि उतैको मतदाता नामावलीमा सारेका थिए।

काठमाडौँ– राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले मतदान गर्न पाएनन्। बागलुङको मतदाता नामावलीमा नाम नभएपछि उनले मतदान गर्न नपाएका हुन्।

केसी रुपन्देही बस्न थालेपछि उनले आफ्नो नाम पनि उतैको मतदाना नामावलीमा सारेका थिए। गएको स्थानीय निर्वाचनमा उनले तिलोत्तमा नगरपालिका–८ स्थित ज्योति आधारभूत स्कुल मतदान केन्द्रबाट मत खसाएका थिए।

केसीले त्यसअघि बागलुङको गलकोट नगरपालिकास्थित मल्मबाट मतदान गर्थे। उनको गृहनगर भने बागलुङ क्षेत्र नं. २ मा पर्छ। उनी यसपटक गठबन्धनको तर्फबाट बागलुृङ–१ मा प्रतिनिधिसभा उम्मेदवार छन्।

कानुनी त्रुटिको कारण आफूले भोट हाल्न नपाएको केसीले बताएको उनलाई उधृत गर्दै राजमोका एक केन्द्रीय सदस्यले बताए। “हामी जहाँबाट पनि उठ्न पाउने, तर भोट हाल्न नपाउने अवस्था आउनुमा कानूनको त्रुटि हो। यसरी भोट हाल्न नपाउने हामी ८२ जना छौँ”, केसीलाई उधृत गर्दै ती नेताले भने, “हाम्रो पनि ध्यान त्यता गएन र निर्वाचन आयोगबाट सुझाव पनि आएन।”

केसीले अब कानून संसोधन गरेर जहाँबाट उम्मेदवार हुन्छ, त्यहीँबाट मतदान गर्न पाउने व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।