‘विदेशी हेर्छन्, स्वदेशीले किन्छन्’

पहिले अधिकांश विदेशी पर्यटकले वसन्तपुर क्षेत्रबाट हस्तकलाका सामान चिनोका रूपमा लिने गरेको भए पनि पछिल्लो समय यस्ता सामग्री बिक्री खासै नभएको व्यापारीको भनाइ छ।

काठमाडौँ– “विदेशी पर्यटक आउँछन् सामान भने स्वदेशी पर्यटकले किन्छन्,” वसन्तपुर दरबार क्षेत्रमा विगत ४० वर्षदेखि हस्तकलाको व्यवसाय गर्दै आएका रामकृष्ण सिटौलाले भने, “अहिले व्यापारको सिजनमा पनि व्यापार सुस्त छ, मुस्किलले बोनी हुन्छ।”

मुख्य पर्यटकीय सिजनमा वसन्तपुर क्षेत्रमा विदेशी पर्यटकको चहलपहल बाक्लो भए पनि हस्तकलाका सामग्रीको व्यापार भने सन्तोषजनक छैन। पहिले अधिकांश विदेशी पर्यटकले वसन्तपुर क्षेत्रबाट हस्तकलाका सामान चिनोका रूपमा लिने गरेको भए पनि पछिल्लो समय यस्ता सामग्री बिक्री खासै नभएको उनको भनाइ छ। उनका अनुसार केही समययता अधिकांश ग्राहक स्वदेशी पर्यटक हुने गरेका छन्।

कोभिड-१९ महामारीपछि मुलुकको पर्यटन करिब पुरानै लयमा फर्कँदै छ। विदेशी पर्यटकको संख्या पनि बढेको छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को १० महिनामा आठ लाख नौ हजार ६७८ पर्यटक नेपाल भित्रिएका छन्। अक्टोबरमा मात्रै हवाईमार्ग भएर एक लाख १७ हजार ३०६ पर्यटकले नेपाल भ्रमण गरेका छन्। 

राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेल मात्रै नभई चर्चित पर्यटकीय गन्तव्य पोखरा, चितवन, लुम्बिनी, अन्नपूर्ण क्षेत्र, खुम्बु क्षेत्र तथा चर्चित तीर्थस्थलहरूमा विदेशी पर्यटकको बाक्लो चहलपहल देखिन्छ। उपत्यकाका वसन्तपुर, ठमेल, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र स्वयम्भू, पशुपतिनाथलगायत तीर्थस्थलमा पनि बाक्लै संख्यामा पर्यटक पुगेका छन्। पर्यटकको पहिलो रोजाइमा पर्ने नेपाली उत्पादन अर्थात् हस्तकलाका सामग्रीको व्यापार भने सोचेजस्तो नभएको व्यवसायीको भनाइ छ।

हस्तकलाका सामान खरिद बिक्रीको लागि अहिले उपयुक्त समय पनि हो। असोज, कात्तिक र मंसिरमा बढी विदेशी आउने भएकाले उनीहरूले सामान खरिद गरेर लैजाने गरेको व्यवसायीको भनाइ छ।

वसन्तपुरमा दैनिक १५ देखि २० हजार रुपैयाँ व्यापार गर्ने सिटौला अहिले मुस्किलले एउटा सामान बिक्री हुने गरेको बताए। “कोभिडपछि अझै बजार लिइसकेको छैन। पर्यटकीय सिजनमै व्यापार सन्तोषजनक छैन। पहिले विदेशीको रोजाइ हुन्थ्यो अहिले नेपालीले बढी किन्ने गरेका छन्”, व्यवसायी सिटौलाले भने।

सिटौलाले वसन्तपुर दरबार परिसरको फुटपाथमा हस्तकलाका सामानको व्यापार गर्दै आएका छन्। उक्त स्थानमा धेरै संख्याका व्यापारीले यस्तो व्यवसाय सञ्चालन गरिरहेका छन्। वसन्तपुर क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म हस्तकलाको व्यापार हुन्छ।

दैनिक मानिसको भिडभाड भइरहन्छ। विदेशी पर्यटकले विशेष गरी नेपालमा उत्पादित परम्परागत हस्तकलाका सामान लैजान्छन्। बुद्धको मूर्ति, खट, खुकुरी मालालगायत सामग्री खरिद गर्ने गरेको व्यवसायीले बताए।

व्यापार सुस्त रहेको र नयाँ पुस्ताले चासो नदिएकाले पुर्ख्यौली पेसाको अस्तित्व नै समाप्त हुने हो कि भन्ने व्यवसायी सिटौलाको चिन्ता छ। उनले भने, “छोरा नातिले यो व्यवसायप्रति चासो दिँदैनन्। विदेशतिर लागिसके अब, यो पेसा नै लोप हुने हो कि भन्ने चिन्ता छ।” सिटौलाको पसलमा पाँच सयदेखि १५ हजार रुपैयाँसम्मका हस्तकलाका सामान छन्। 

सोही क्षेत्रमा विगत २५ वर्षदेखि व्यापार गर्दै आएका सिन्धुपाल्चोकका हरि कार्कीको अनुभवमा पनि व्यापारमा उत्साह छैन। व्यापार राम्रो भएका बेला कहिलेकाहीँ दैनिक १५ हजार रुपैयाँसम्म आम्दानी हुन्छ। “यो सिजनमा व्यापार ठीकै छ, कोरोनाकालभन्दा त धेरै राम्रो छ। सिजनमा राम्रो व्यापार हुन्छ। अहिले सिजन हो तर, विदेशी पर्यटक बढे पनि ग्राहक भने नेपाली नै हुने गरेका छन्,” उनले भने। कार्कीको पसलमा पाँच सयदेखि १२ हजारसम्मका सामान छन्। विदेशीले ‘सिङ्गिङ बल’, मालालगायतका सामग्री बढी रुचाउँछन्। 

प्रमुख पर्यटकीय क्षेत्रमा विदेशीले भन्दा नेपालीले समान किन्ने गरेको व्यवसायीले बताएका छन्। कोभिड पहिले दैनिक २० हजार रुपैयाँसम्म कमाइ गर्ने कार्कीले अहिले पाँचदेखि १० हजार आम्दानी गरिरहेका छन्।‍

वसन्तपुर दरबार क्षेत्र, ठमेल, स्वयम्भू, बौद्ध, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्रमा हस्तकलाका सामानको व्यापार हुन्छ। सबैभन्दा धेरै किनमेल वसन्तपुरमै हुन्छ। होलसेलमै सस्तो सामान पाइने भएकाले विदेशीको पहिलो रोजाइ वसन्तपुर क्षेत्र हुने गरेको व्यवसायीको भनाइ छ। 

झापाका किशोर दर्नाल २५ वर्षदेखि वसन्तपुर क्षेत्रमा व्यापार गर्छन्। पर्यटकीय सिजन भए पनि व्यापार उत्साहजनक नभएको उनी बताउँछन्। उनले भने, “व्यापार काम चलाऊ मात्रै छ। पर्यटक आए पनि सामान किन्दैनन्। नेपालीले नै बढी किन्छन्। आशातीत रूपमा सिजन मै व्यापार छैन।”

भक्तपुरकी धनमाया तामाङको पनि व्यापार राम्रो छैन। “कहिले हुन्छ, कहिले हुँदैन। भएको बेला पाँच हजारदेखि १० हजार रुपैयाँ कमाइ हुन्छ। पर्यटक आएका छन् तर बिक्री भने खासै छैन”, उनले भनिन्, “तामाङको पसलबाट उपभोक्ताले माने, मुकुण्डोलगायतका सामान बढी लैजान्छन्।”

वसन्तपुरमा सामान खरिद गर्दै गरेकी ललितपुरकी सृष्टि श्रेष्ठले यो क्षेत्रमा सस्तो सामान पाइने भएकाले आएको बताइन्। “वसन्तपुरमा सामान किन्न रमाइलो लाग्छ”, भाउजू रेखा श्रेष्ठसँगै वसन्तपुर घुम्न आएकी श्रेष्ठले भनिन्, “पाटनमा सामान पाइने भए पनि नानीबाबुसँगै घुम्न पनि पाइने र सामान पनि किनिने भएकाले यहाँ आएका हौँ।”

वसन्तपुरका व्यवसायी मात्रै होइन प्रमुख पर्यटकीय क्षेत्र ठमेलको हस्तकलाको व्यापार पनि राम्रो छैन। विगत १५ वर्षदेखि सो क्षेत्रमा व्यापार गर्दै आउनुभएका मनाङ ह्याण्डि क्राफ्टका सञ्चालक वाङ्गेल गुरुङले सिजनमै व्यापार खासै राम्रो नभएको बताए। 

“कोभिडपूर्व व्यापार राम्रै थियो। अहिले भाडा तिर्नसमेत समस्या छ। पर्यटक आउँछन् सामान हेर्छन् जान्छन्। नेपालीले फाट्टफुट्ट किन्छन्,” उनले भने।

ठमेलमा विगत २२ वर्षदेखि व्यापार गर्दै आएका भारतका ओसिम आक्रामले पनि व्यापार राम्रो नभएको सुनाए। उनी ‘माउनटेन टिसर्ट ब्याग’मार्फत विदेशीलाई नेपाली उत्पादन बिक्री गर्दै आएका छन्। ठमेलमा बुद्धिस्ट माला इन्टरप्राइसका सञ्चालक इन्द्रसिंह लामाले पर्यटक घुमिरहे पनि व्यापार सन्तोषजनक नरहेको बताए।