उत्तरकाशीको सुरुङमा फसेका कामदारको १७ दिनपछि उद्धार

भारतको उत्तरकाशीस्थित सिल्कयाराको निर्माणाधीन सुरुङमा फसेका कामदारको १७ दिनपछि सुरक्षित रूपमा उद्धार भएको छ।

भारतको उत्तराखण्डको सुरुङमा फसेका कामदारको १७ दिनपछि उद्धार भएको छ।

उत्तराखण्ड राज्यको उत्तरकाशीस्थित सिल्कयाराको निर्माणाधीन सुरुङमा फसेका ४१ कामदारको मंगलबार सुरक्षित उद्धार भएको हो।

उत्तराखण्ड सरकारले सुरुङमा फसेका सबै ४१ कामदारलाई सुरक्षित रूपमा बाहिर निकालिएको बताएको बीबीसीले जनाएको छ।

भारतीय सञ्चारमाध्यममा प्रसारित भिडियोमा कामदारहरूलाई एम्बुलेन्समा राखेर सुरक्षित रूपमा बाहिर निकाल्दै गरेको देखाइएको छ।

सुरुङबाट बाहिर निस्किएपछि उनीहरूलाई उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले भेटेका थिए।  

सुरुङबाट उद्धार गरिएका कामदारहरूलाई एम्बुलेन्समार्फत सिधै चिन्यालीसौड स्वास्थ्य केन्द्रमा लगिने र त्यहाँ चिकित्सकहरूको निगरानीमा स्वास्थ्य परीक्षण गरिने बताइएको छ।

उत्तराखण्डको उत्तरकाशी भन्ने ठाउँमा निर्माणाधीन उक्त सुरुङ गत नोभेम्बर १२ मा भत्किएको थियो। त्यसपछि सुरुङमा कार्यरत मजदुर त्यही फसेका थिए।

गएको मंगलबार बल्ल सुरुङभित्र फसेका कामदारलाई पहिलो पटक जीवित देखिएको थियो। त्यसपछि एउटा पातलो पाइपको माध्यमबाट पठाइएको एन्डोस्कोपिक क्यामेराको माध्यमबाट उनीहरूको अवस्था निगरानी गरिएको थियो।

पाइपमार्फत उनीहरूलाई हावा, खाना, पानी र बिजुली पुर्‍याइने गरिएको थियो। भग्नावशेष खस्ने र ड्रिलिङ मेसिन बारम्बार बिग्रिँदा उद्धार प्रयास सुस्त र जटिल बनेको थियो। यद्यपि, उद्धारकर्ताले मंगलबार उनीहरूलाई जीवितै उद्धार गर्ने कार्यमा सफलता प्राप्त गरेका हुन्।