बुटवलको आम्दा अस्पतालमा सुत्केरीको मृत्युपछि डाक्टरमाथि हातपात, ७ जना पक्राउ

घटनामा संलग्न भएको आशंकामा सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौँ– रुपन्देहीको बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा सुत्केरीको मृत्युपछि मृतकका आफन्तले डाक्टरमाथि हातपात गरेका छन्। 

आक्रोसित आफन्तले अस्पतालभित्र छलफल चलिरहेका बेला बुधबार बिहान मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि हातपात गरेको डीएसपी दानबहादुर थापाले बताए। 

गुल्मी सत्यवती गाउँपालिकाकी भवानी राष्कोटीको प्रसूतिपछि मंगलबार राति मृत्यु भएको थियो। डीएपसी थापाका अनुसार छलफल चलिरहेका बेला मेसु डा. बस्यालमाथि कुटपिट भएको हो। कुटपिटबाट घाइते भएका डा. बस्यालको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। 

“सुत्केरीको मृत्यु भएपछि अस्पतालमा दुई पक्षबीच छलफल भइरहेको रहेछ। बिरामीको पक्षले राखेको सबै माग अस्पतालले पूरा गर्न नसक्ने बनाएपछि आफन्तले कुर्सीले हान्नुभएछ,” डीएसपी थापाले उकालोसँग भने, “सोही क्रममा डाक्टर पनि घाइते हुनुभएको हो। कुर्सीले प्रहरीलाई पनि लागेको छ।”

घटनामा संलग्न भएको आशंकामा सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए।