गाजाबाट थप १२ बन्धक रिहा, दिगो युद्धविराममा जोड

प्रारम्भिक चार दिने युद्धविराम थप दुई दिन लम्ब्याइएपछि १२ बन्धकको नयाँ समूहलाई गाजाबाट मुक्त गरिएको छ। यता, इजरायलले भने ३० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ। 

इजरायली जेलबाट रिहा भएकी एक कैदीलाई स्वागत गरिँदै। तस्वीर: एएफपी

इजरायल र हमासबीचको युद्धविराम बुधबार छैटौँ दिनमा प्रवेश गरेको छ।

प्रारम्भिक चार दिने युद्धविराम थप दुई दिन लम्ब्याइएपछि १२ बन्धकको नयाँ समूहलाई गाजाबाट मुक्त गरिएको छ। यता इजरायलले भने ३० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ। 

यसैबीच, मध्यस्थकर्ता कतारले थप दिगो व्यवस्थाको अपेक्षा गरिरहेको बताएको छ। “अहिले हाम्रो मुख्य ध्यान र आशा एउटा स्थायी युद्धविरामसम्म पुग्ने हो जसले थप वार्ता हुनेछ र अन्ततः यो युद्धको अन्त्य गर्नेछ,” कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले भने। 

मुक्त गरिएका इजरायली बन्धकमा १७ वर्षीया मिया लिम्बर्गसहित सबै महिला छन्। लिम्बर्ग आफ्नी आमा र काकीसँग इजरायल फर्केकी थिइन्। तीनै जनालाई किबुत्ज निर यित्ज्याकबाट अपहरण गरिएको थियो। स्थानीय मिडियाका अनुसार बुधबार इजरायल सरकारलाई रिहा हुने नयाँ बन्धकको सूची प्राप्त भएको छ। 

यद्यपि यसको कुनै आधिकारिक पुष्टि भएको छैन। सम्झौताको सर्तअन्तर्गत अहिलेसम्म ६० इजरायली बन्धकलाई गाजाबाट मुक्त गराइएको छ। सम्झौताको दायराभन्दा बाहिर रहेर एक रुसी–इजरायल, २० थाई र एक फिलिपिनोलाई मुक्त गरिएको छ। 

बदलामा १८० प्यालेस्टिनी महिला र नाबालिग बन्दीलाई रिहा गरिएको छ। रिहा हुनेमा १४ वर्षीय अहमद सलाइमा पनि थिए। उनी पूर्वी जेरुसेलममा आफ्नो घर फर्किएका थिए र आफ्ना आफन्तहरूसँग अँगालो हालेका थिए। “जेलमा रहँदा अहमद सबैभन्दा कम उमेरका प्यालेस्टिनी बन्दी भए पनि हामीले उनलाई भेट्न सकेनौँ”, उनका बुबा नायेफले भने। 

इजरायली अधिकारीहरूका अनुसार युद्धविराम सम्झौताले अक्टोबर ७ मा हमासको हमलाबाट शुरू भएको युद्धलाई अस्थायी रूपमा रोकेको छ। उक्त हमलामा इजरायलमा अधिकांश सर्वसाधारणसहित एक हजार २०० मानिस मारिएका थिए। 

इजरायलले जवाफमा गाजामा गरेको हवाई र स्थल कारबाहीमा करिब १५ हजार मानिसको मृत्यु भएको हमासका अधिकारीले बताएका छन्।