मलेसियन कम्पनी आजियाटा एनसेलबाट बाहिरिँदै

व्यावसायिक चुनौतीहरू बढ्दै गएकाले कम्पनीको बोर्ड बैठकले नेपालबाट बाहिरिने निर्णय गरेको आजियाटाले जनाएको छ।

काठमाडाैँ– मलेसियन कम्पनी आजियाटा समूहले एनसेलबाट लगानी झिक्ने निर्णय गरको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै आजियाटाले यसबारे जानकारी गराएको हो।

व्यावसायिक चुनौतीहरू बढ्दै गएकाले कम्पनीको बोर्ड बैठकले नेपालबाट बाहिरिने निर्णय गरेको आजियाटा समूहका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले बताएका छन्। 

“नेपालको परिप्रेक्ष्यमा चुनौतीहरू दिनप्रतिदिन बढ्दै गएपछि बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेका छौँ," आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले भने। नेपालबाट लगानी झिक्ने निर्णय सबै शेयरहोल्डरको दीर्घकालीन हितमा रहेको र यसले  कम्पनीको रणनीतिक उद्देश्यहरू पूरा गर्न अझै बलियो अवस्थामा पुर्‍याउने प्रमुख कार्यकारी अधिकृत सुदको भनाइ छ।

एनसेलमा रहेको आफ्नो लगानी बिक्रीमा राखिएको पनि कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। एनसेलमा मलेसियाली कम्पनी आजियाटा बर्हाडको ८० प्रतिशत र नेपाली स्वामित्वको सुनिभेरा क्यापिटल भेन्चरको २० प्रतिशत शेयर स्वामित्व रहेको छ।