इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

१९५ देशका प्रहरीले सहभागिता जनाएको प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको हो।

काठमाडाैँ– अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)द्वारा आयोजित भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ। नेपाल प्रहरीका प्रहरी निरीक्षकद्वय नारायण थापा र उमेश गुरुङले बनाएको ‘लेट्स सेभ द प्लानेट–इन्टरपोल १००’ नामक सूचनामूलक छोटो भिडियो सर्वोत्कृष्ट भएको हो। 

भिडियोमा जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, कृत्रिम बौद्धिकताका कारण भविष्यमा हुनसक्ने समस्या समाधान गर्न र दिगो विकासको लक्ष्य प्राप्त गर्न यूएनको मुख्य साझेदारको रूपमा रहेको इन्टरपोलको अहम भूमिका हुने विषय समेटिएको छ।

इन्टरपोलले युवा प्रहरी अधिकृतबीच प्रतियोगिता आयोजना गरेको थियो। मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना भइरहेको इन्टरपोलको ९१ औँ महासभाको पहिलो दिन भएको उक्त प्रतियोगितामा १९५ देशका प्रहरी अधिकृतले सहभागिता जनाएका थिए। 

इन्टरपोलका अध्यक्ष मेजर जनरल डा अह्मद नासर अल राइसीबाट नेपाल प्रहरीलाई सम्मानस्वरूप प्रमाणपत्र हस्तान्तरण गरेका छन्। उक्त महासभामा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसहितको नेपाली प्रतिनिधि मण्डल सहभागी रहेको थियो।