अस्थायी आवास निर्माणका लागि ५० हजार एकै किस्तामा दिन सरकारलाई कांग्रेसको सुझाव

बैठकमा आगामी पुस १६ देखि १९ गतेसम्म बस्ने पार्टी महासमिति बैठकको अजेन्डाबारे पनि छलफल भएको पार्टीका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले बताए।

काठमाडाैँ– सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले पश्चिम नेपालका भूकम्प पीडितको अस्थायी आवास निर्माणका लागि एकै किस्तामा बजेट दिने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ।

बुधबार धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले अस्थायी आवास निर्माणका लागि दुई किस्तामा दिने भनिएको ५० हजार रुपैयाँ एकै किस्तामा दिन सरकारलाई सुझाव दिएको पार्टी प्रचार विभाग प्रमुख मिन विश्वकर्माले बताए।

"भूकम्प प्रभावित क्षेत्रमा रकम पठाइसकिएको, तर अझै पनि स्थानीय तहमा र पीडितको हातमा रकम नपुगेको कुरामा हामी गम्भीर भएका छौँ। तर दुई किस्तामा दिने भनिएकोमा त्यो रकम एकै पटक दिनुपर्छ भनेर सरकारलाई भनिएको छ। त्यसैगरी सुत्केरी, गर्भवती महिलाहरू चिसोबाट प्रभावित भएका छन्। वृद्धवृद्धाहरूको मृत्यु नै भएको छ। त्यसमा आवश्यक व्यवस्था सरकारले गरोस् भन्ने कुरा भएको छ," उनले भने।

बैठकमा पार्टी उपसभापति समेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्का र अर्थमन्त्री डा. प्रकाशशरण महतले भूकम्प प्रभावितहरूको राहतका लागि सरकारले गरेका कामबारे बैठकलाई जानकारी गराएका थिए। बैठकमा कांग्रेस नेताहरूले भूकम्प प्रभावित क्षेत्रका मानिसहरूको चिसोले ज्यान गइरहेकाले त्यसलाई रोक्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए।

यस्तै, बैठकले संघीय गणतन्त्र विरोधी गतिविधिलाई निस्तेज पार्न संविधान कार्यान्वयनमा क्रियाशील हुनुपर्ने पनि निष्कर्ष निकालेको छ। संविधानको कार्यान्वयन नभएकाले संघीय गणतन्त्रमाथि टिकाटिप्पणी हुने गरेकाले त्यसको पूर्ण कार्यान्वयनको पक्षमा क्रियाशील हुने निष्कर्ष बैठकले निकालेको प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिए।

बैठकमा आगामी पुस १६ देखि १९ गतेसम्म बस्ने पार्टी महासमिति बैठकको अजेन्डाबारे पनि छलफल भएको थियो।