पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफलाई भ्रष्टाचार मुद्दामा सफाइ

तीन पटक प्रधानमन्त्री भइसकेका सरिफले आफूमाथि लागेका आरोप राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको बताउँदै आएका छन्। 

पाकिस्तानको एक उच्च अदालतले गत महिना स्वनिर्वासनबाट फर्केका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफविरुद्ध लगाइएको भ्रष्टाचारको अभियोग बुधबार खारेज गरिदिएको छ। 

आगामी फेब्रुअरीमा पाकिस्तानमा चुनाव हुँदैछ।  चुनावको मुखैमा उनीमाथि लागेको भ्रष्टाचारको मुद्दा खारेज भएको छ भने उनका मुख्य प्रतिद्वन्द्वी इमरान खान जेलमा छन्।

“मैले सबै कुरा अल्लाहमा छोडेको थिएँ र अल्लाहले आज मलाई सम्मान गर्नुभएको छ,” सरिफले इस्लामाबाद उच्च अदालतबाहिर पत्रकारसँग भने। इस्लामाबाद उच्च अदालतका एक अधिकारीले भ्रष्टाचार मुद्दामा सफाइ पाएको पुष्टि गरेको समाचार एजेन्सी एपीले जनाएको छ।

सरिफलाई सन् २०१८ मा आफ्नो परिवारले लन्डनमा फ्ल्याट खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा १० वर्षको जेल सजाय सुनाइएको थियो। त्यसपछि उनी लन्डनमा निर्वासित जीवन बिताइरहेका थिए। तीन पटक प्रधानमन्त्री भइसकेका सरिफले यो आरोप राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको बताउँदै आएका छन्। 

पाकिस्तान मुस्लिम लिग पार्टीका प्रमुख नवाज अहिले आगामी चुनावको लागि तयारी गरिरहेका छन्।