कृषि कर्मबाट चिनिँदै गुप्तप्रसाद: राजनीति र विदेश छाडेर फलफूल खेती

गैँडाकोटका गुप्तप्रसाद रेग्मीले फलफूल खेती थाल्दा जिल्लामा उन्नत जातका कागती र सुन्तलाका बिरुवा पाइँदैनथे। धनकुटा पुगेर बिरुवा ल्याएर खेती शुरू गरेको उनको भनाइ छ।

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मी २०७४ सालको स्थानीय तह निर्वाचनमा वडासदस्य निर्वाचित भए।

तर, उक्त पदमा सन्तुष्ट हुन नसकेपछि रेग्मीको मन वैदेशीक रोजगारतर्फ मोडियो। विदेशमा पनि कमाइ राम्रो भएन। र, गाउँ फर्किएर फलफूल खेती शुरू गरे। 

उनी अहिले व्यावसायिक किसानको रूपमा स्थापित भएका छन्। गैँडाकोट–१८ बसेनीमा केही जग्गा लिएर टीकारत्न टुल्की कृषि फार्म दर्ता गरेर सुन्तला खेतीमा लागेका हुन्। “दुईपटक कतार गएँ, त्यहाँ सुन्तला खाएँ। तर, त्यसको स्वाद पाइनँ,” रेग्मीले भने, “त्यसपछि अस्ट्रेलिया गएँ, त्यहाँ पनि मन अडिएन। अनि गाउँ फर्किएर कृषिमा लागेँ।” 

नेपाल फर्किएर उनले गैँडाकोट–१८ मा १३ रोपनी १४ आना जग्गा खरिद गरेर खेती थाले। उनले फलफूल खेती गर्न शुरू गर्दा जिल्लामा उन्नत जातका कागती र सुन्तलाका बिरुवा पाइँदैनथे। धनकुटाको पारी पात्ले पुगेर बिरुवा लिएर आए।

“शुरूमा १० वटा सुन्तला र ४०० कागतीबाट फलफूल खेती शुरू गरेँ,” उनले भने, “अहिले डाँडाभरि सुन्तला छन्।” अहिले फार्ममा सुन्तलाको एक हजार ५००, कागतीका ९००, निबुवाका ३००, मौसमका २००, आँखे टिमुरका १००, लप्सीका ६० बोट हुर्किएका छन्। यस्तै, स्याउ, किबी, आँप, लिची र एभोकाडोसहितका फलफूलका बोटबिरुवा पनि छन्। अहिलेसम्म दुई करोड ५० लाख बढी लगानी भइसकेको उनले सुनाए। 

फलफूलका बोटबिरुवाले गत वर्षदेखि आम्दानी दिन शुरू गरेका छन्। “गत वर्ष फलफूल बिक्रीबाट दुई लाख रुपैयाँ जति आम्दानी भयो। यस वर्ष १० लाखको बिक्री हुने अपेक्षा छ,” उनले भने, “अझै केही फलफूल टिप्न बाँकी छन्। अब आम्दानी बढ्दै जान्छ।” 

यस वर्ष सुन्तलाको ४०० बोटबाट मात्रै आम्दानी भएको उनले सुनाए। आगामी वर्षबाट एक हजार सुन्तलाको बोटले उत्पादन दिन्छन्। यस वर्ष सुन्तला, कागती, निबुवा, टिमुरलगायतका बोटबाट आम्दानी लिन शुरू भएको उनले सुनाए। 

रेग्मीले १३ रोपनी १४ आना जग्गाबाट शुरू गरेको फलफूल खेती अहिले ८२ रोपनीमा विस्तार गरिसकेका छन्। फर्मसम्म पुग्न सडक सहज थिएन। “बाटो अलि सहज भएपछि मैले कार बेचेर पिकअप किनेँ, यो पिकअपबाट आउनजान सहज भएको छ,” उनले भने। 

यहाँभन्दा विस्तार नगर्ने उनको सोच छ। “फलफूल खेतीबाट सन्तुष्ट छु, तर, यहाँभन्दा विस्तार गर्दिनँ,” उनले भने, “फलफूल खेतीले मेरो उमेर १० वर्ष बढाएको छ जस्तो लाग्छ।” गाउँमा पानीको समस्या भएका कारण रेग्मीले ५०० मिटर तल खोलाबाट लिफ्टिङ गरेर पानी तानेका छन्। 

उनलाई सुन्तला जोन, कृषि ज्ञान केन्द्रलगायत सरकारी निकायले अनुदान पनि दिएका छन्।