जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौँडा इजलासमा भिडियो कन्फ्रेन्समार्फत मुद्दाको सुनुवाइ

प्रधानन्यायाधीश श्रेष्ठले छिटो, छरितो, सरल र सुलभ तरिकाले न्याय सम्पादन र सबैलाई न्यायमा पहुँच पुर्‍याउन सहयोग पुग्ने उद्देश्य राखेर भिडियो कन्फ्रेन्समार्फत मुद्दाको सुनुवाइ थालिएको बताए।

काठमाडौँ– उच्च अदालतका जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौँडा इजलासमा श्रव्यदृश्य (भिडियो कन्फ्रेन्स)बाट मुद्दाको सुनुवाइ शुरू भएको छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा बिहीबार आयोजित कार्यक्रमबीच उच्च अदालतका जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौँडा इजलासमा भिडियो कन्फ्रेन्सबाट मुद्दाको सुनुवाइ शुरू गरेका हुन्।

कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश श्रेष्ठले अब जनताले आ–आफ्नै घरबाट पनि न्याय पाउन सक्ने बताए। उनले नेपालको भूभाग र भू–धरातलीय स्थिति हेरेर दुर्गमका जनतालाई आवश्यक पर्ने न्यायको पहुँच सहज बनाउन यो काम गरिएको बताए। “यो उदाहरणीय काम हो, यो न्यायमा पहुँचका लागि महत्त्वपूर्ण कार्य शुभारम्भ गरेका छौँ,” उनले भने।

उनले यसभन्दा अघि सर्वोच्चले दिपायल उच्च अदालत र इलाम इजलासमा श्रव्यदृश्य संवादमार्फत मुद्दाको सुनुवाइ शुरू गरेको थियो।

अब मुद्दाको फर्स्योट चाँडै हुने, कम खर्चिलो र न्यायमा पहुँच सरल हुने माध्यम बनेको उनको जिकिर छ। कानून व्यवसायीलाई पनि आफ्नै चेम्बरमा बसेर बहस गर्न सकिने फाइदा यस प्रविधिबाट हुने उनको भनाइ छ।

उनले आगामी दिनमा थप अध्ययन गरी श्रव्यदृश्य संवादमार्फत मुद्दाको सुनुवाइ गर्ने अभियान बिस्तार गर्ने योजना सुनाए। “यो कार्यक्रम निरन्तर अघि बढ्छ। अहिले चार ठाउँमा भयो, अझै केही ठाउँमा अध्ययन गर्दै छौँ,” उनले भने।

प्रधानन्यायाधीश श्रेष्ठले छिटो, छरितो, सरल र सुलभ तरिकाले न्याय सम्पादन र सबैलाई न्यायमा पहुँच पुर्‍याउन सहयोग पुग्ने उद्देश्य राखेर यो माध्यम सुनुवाइ थालिएको बताए।