विपिनको बिनाशर्त रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायसँग संसदीय समितिको आग्रह

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले जोशीको बिनाशर्त अविलम्ब रिहाइका लागि हमासलगायत अन्तर्राष्ट्रिय समुदायहरूसँग आग्रह गर्ने निर्णय भएको बताए।

काठमाडौँ– अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको बिनाशर्त रिहाइको पहल गरिदिन अन्तर्राष्ट्रिय नियोगसँग आग्रह गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको संसदीय समितिले अन्तर्राष्ट्रिय समुदायसँग जोशीको बिनाशर्त रिहाइ गर्न आग्रह गर्ने निर्णय गरेको हो।

कञ्चनपुरका जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायलमा पुगेका थिए। गत अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको हमलापछि उनी सम्पर्कविहीन भएका थिए। पछि जारी गरिएको एक भिडियोमा उनी देखिएको इजरायली सेनाको भनाइ उद्धृत गर्दै इजरायलमा रहेको नेपाली दूतावासले जानकारी दिएको थियो।

यद्यपि, उनी कहाँ छन् र कस्तो अवस्थामा छन् भन्ने पर्याप्त विवरण सार्वजनिक भएका छैनन्। सरकारले उनको रिहाइका लागि इजरायल–हमासबीच युद्धविराम गराउने कार्यको मध्यस्थता गरिरहेका राष्ट्र इजिप्ट र कतारसँग आग्रह गरेको छ। यसबीच संसदीय समितिले पनि अन्तर्राष्ट्रिय समुदायसँग उनीको रिहाइका लागि आग्रह गर्ने निर्णय गरेको हो।

बैठकपछि निर्णय सुनाउँदै समिति सभापति राजकिशोर यादवले जोशीको बिनाशर्त अविलम्ब रिहाइका लागि हमासलगायत अन्तर्राष्ट्रिय समुदायहरूसँग आग्रह गर्ने निर्णय भएको बताए।

“विपिन जोशीको बिनाशर्त अविलम्ब रिहाइका लागि हमास लगायत अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गरेका छौँ,” उनले निर्णय सुनाउँदै भने, “नेपाल कुनै पनि पक्षधरता देश नरहेको र हामी जहिले पनि शान्तिको वकालत गर्ने भएकाले हाम्रो नागरिकलाई कुनै पनि कारणबिना यसरी बन्धक बनाइनु हुँदैन।”

उनले साथै समितिको बैठकले समितिको ६ महिनाको भावी कार्ययोजना र समितिको कार्य प्राथमिकीकरणका लागि नौ सदस्यीय कार्यदल गठन गरेको जानकारी दिए। कार्यदलले समितिको प्राथमिकीकरण कुन विषयलाई कहिले टुंग्याउने भन्ने निष्कर्ष निकाल्ने उनको भनाइ छ।

कार्यदलका संयोजक राजकिशोर यादवसहित सदस्यमा उदय शमशेर जबरा, एकनाथ ढकाल, छिरिङ यामु लामा, देवीप्रकाश भट्टचन, डा. धवल शमशेर जबरा, प्रेम सुवाल, शिशिर खनाल, सम्झना थपलिया छन्।