नेप्से दोहोरो अंकले घटेर १८५८.५३ को बिन्दुमा सीमित

विजय लघुवित्त, माउन्टेन इनर्जी र युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले गिरावट भई नकारात्मक सर्किट लागेको छ।

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १८.०६ अंकले ओरालो लागेर १८५८.५३ मा सीमित भएको छ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८० अंकले ओरालो लागेर ३५६.०८ मा सीमित भएको छ। कारोबार भएका कुल १३ उपसमूहमध्ये बिहीबार एक उपसमूहको शेयर मूल्यमा सामान्य वृद्धि हुँदा १२ उपसमूहको शेयर मूल्यमा भने गिरावट भएको छ।

कुल ४५ लाख ९५ हजार ५५३ कित्ता शेयर एक अर्ब ३२ करोड ३५ लाख १९ हजार ३५७ मूल्यमा कारोबार भएको छ।

नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर शीर्षस्थानमा छ। सो कम्पनीको ११ करोड ६७ लाख १२ हजार ३०० रुपैयाँ बराबरको कारोबार भयो।

सोनापुर मिनरल्स आठ करोड ४९ हजार ४०१, युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर पाँच करोड १९ लाख ४९ हजार १३१, सोल्टी होटल चार करोड ३९ लाख ७० हजार २०२ र रिलायवल नेपाल लाइफ इन्स्योरेन्स तीन करोड २६ लाख ३९ हजार ३९४ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार रुरु जलविद्युत् परियोजना ५.६३, एनआईबीएल प्रगति फन्ड ३.८७, लक्ष्मी भ्याल्यू फन्ड दोस्रो ३.५२, एनआईसी एशिया फ्लेक्सी क्याप फन्ड ३.४१ र छिमेक लघुवित्तका लगानीकर्ताले ३.४१ प्रतिशतले कमाएका छन्।

यस्तै, विजय लघुवित्त, माउन्टेन इनर्जी र युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले गिरावट भई नकारात्मक सर्किट लागेको छ। यस्तै, सिटिजन म्युचुअल फन्ड दोस्रो ८.८८ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ५.६७ प्रतिशतले गुमाएका छन्।