स्वास्थ्य बीमा बोर्ड अध्यक्षमा लोहनी नियुक्त, यी हुन् मन्त्रिपरिषद्का निर्णय

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति सदस्य त्रिरत्न मानन्धरको राजीनामा स्वीकृत गरी रिक्त सदस्य पदमा अच्युतराज पहाडीलाई मनोनीत गरेको छ।

काठमाडौँ– सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा डा. गुणराज लोहनीलाई नियुक्त गर्नेसहित विभिन्न निर्णय गरेको छ। डा. लोहनीलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

त्यस्तै, नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सुवोधकुमार शर्मालाई मनोनयन गर्ने निर्णय भएको बिहीबारका मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। 

बैठकले माल्दिभ्सको मालेमा मंसिर २७–२८ मा आयोजना हुने मिनिस्ट्रियल मिटिङमा महान्यायाधिवक्ता डा. दिनमणि पोखरेललाई सहभागी हुन स्वीकृति दिएको छ। 

सरकारले राजस्व न्यायाधिकरण पोखराको कानून सदस्य एवं अध्यक्षमा उच्च अदालत पोखराका न्यायाधीश राजनबहादुर भट्टराई, विराटनगरको कानून सदस्य तथा अध्यक्षमा उच्च अदालत विराटनगरका न्यायाधीश विपुल न्यौपाने, काठमाडौँको कानून सदस्य तथा अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाललाई तोकेको छ।

सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्षमा उच्च अदालत दिपायलका न्यायाधीश कृष्ण गिरीलाई तोकेको छ।

विशेष अदालतको अध्यक्ष मा उच्च अदालत दिपायलका न्यायाधीश टेकनारायण कुँवरलाई र सदस्यमा उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश तेजनारायण सिंह राई, उच्च अदालत विराटनगर धनकुटा इजलासका न्यायाधीश रामबहादुर थापा, उच्च अदालत पाटनका न्यायाधीश मुरारीबाबु श्रेष्ठलाई तोक्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन्।

मंसिर २४–२५ मा कतारको दोहामा आयोजना हुने दोहा फोरम २०२३ मा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृत दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। मन्त्री शर्माले रोमानियाको बुखारेसस्थित नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेललाई अवैतनिक वाणिज्यदूत पदबाट हटाउने निर्णय भएको पनि बताइन्। 

मन्त्रिपरिषद्ले सरकारका नाममा रहेको सरकारी जग्गा १५ शय्याको आधारभूत अस्पताल भवन निर्माणार्थ पर्साको पर्सागढी नगरपालिकालाई उपयोग गर्न स्वीकृति दिने, ३९१९ वर्गमिटर सरकारी जग्गा गाउँपालिकाको प्रशासकीय भवन निर्माणार्थ रोल्पाको सुनिलस्मृति गाउँपालिकालाई उपयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ।

साउदी अरेबियाको रियादमा मंसिर २७–२८ मा हुने फर्स्ट ग्लोबल लेबर मार्केट कन्फरेन्समा सहभागिताको लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई स्वीकृति दिने निर्णय भएको उनले बताइन्।

उनका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति सदस्य त्रिरत्न मानन्धरको राजीनामा स्वीकृत गरी रिक्त सदस्य पदमा अच्युतराज पहाडीलाई मनोनीत गरिएको छ।

प्रवक्ता शर्माले सांस्कृतिक संस्थान सञ्चालक समितिको अध्यक्ष पदमा चन्द्रकुमार राईलाई तोकेको जानकारी दिइन्। त्यसैगरी, राष्ट्रिय आमसञ्चार सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, नेपाल मिडिया काउन्सिल सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने र सामाजिक सञ्जालको प्रयोगलाई नियमन, सञ्चालन तथा व्यवस्थापन गर्नेसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको पनि प्रवक्ता शर्माले बताइन्।

मन्त्रिपरिषद्को गत मंसिर ७ गते बसेको बैठकले विद्युतीय सुशासन आयोगको रिक्त सदस्य पदमा पूर्णबहादुर कुँवरलाई नियुक्त गरेको छ।

त्यस्तै १०० रुपैयाँ दरका १० हजार थान स्मारिका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने, खाद्य तथा पोषण सुरक्षा आयोजना दोस्रोका लागि विश्व बैंकमार्फत प्राप्त हुने २ करोड अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने र प्राविधिक शिक्षाको क्षेत्रमा स्विजरल्यान्ड सरकारले प्रदान गर्ने करिब ६५ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको पनि प्रवक्ता शर्माले बताइन्। 

उनले नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ को अनुसूचीमा इलेकट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फरमेसन इन्जिनियरिङ र इलेकट्रोनिक्स कम्युनिकेसन एन्ड अटोमेसन इन्जिनियरिङ विषयहरू थप गर्ने निर्णय भएको जनाइन्।