काठमाडौँमा फराकिलो क्षेत्र ओगटेका महँगादेखि सडक किनारामै खुलेका सामान्य चिया पसलमा उस्तै भिड हुन्छ। नेपालमा चिया पसल खुल्न थालेको पुगनपुग आठ दशक हुँदा धेरैको प्रिय पेय भएको छ।
काठमाडौँ– उकालोमा लेखिने–देखिने चिया श्रृंखलाको अघिल्लो भाग ‘ब्रु’ गरेर पिइने चियामा केन्द्रित थियो। यस भागमा हामीले ‘लोकल’ चियाका पारखीका साथै सटर भाडामा लिएर चिया बेच्दै गरेका पसलेहरूसँग कुरा गरेका छौँ।
काठमाडौँमा फराकिलो क्षेत्र ओगटेका महँगो चिया पसल धेरै खुलिसकेका छन्। त्यस्ता पसलमा थरिथरिका चिया पाइन्छन्। चिया खाँदै घण्टौँ बसेर गफ गर्न सकिन्छ।
सडक किनारामा देखिने सामान्य चिया पसलहरूमा पनि भिड देखिन्छ। काठमाडौँका गल्लीहरू चाहार्ने हो भने यस्ता पसलमा चिया पिउँदै गरेकाहरू जतासुकै भेटिन्छन्।
यी पसलमा प्रायः दुई थरि चिया पाइन्छ– ब्ल्याक र मिल्क टी। दुवै चियाको पारखीहरू अत्यधिक छन्।
दुध चिया खाएन भने दिन नै खल्लो हुने तारा बानुको अनुभव छ। उमेरले झण्डै ७० वर्षकी तारा दिनमा ८/१० कपसम्म चिया पिउँछिन्। “चिया त जति खाए पनि धित मर्दैन, साह्रै मिठो लाग्छ। कहिलेकाहीँ असाध्यै भोक लाग्दा खाना पकाउन अल्छि लाग्छ, चिया बनाएर खान्छु,” उनले भनिन्।

केही दिनअघि तारा हाँडीगाउँको एक चिया पसलमा भेटिएकी थिइन्। ‘अर्डर’ गरेको चिया आइपुगेको थिएन। उनी बारम्बार ग्यास स्टोभतिर हेर्दै प्रश्न गर्थिन्, “चिया पाकेन? कत्रो बेर लागेको?”
चिया पसलेका अनुसार तारा त्यहाँको नियमित ग्राहक हुन्।
काठमाडौँमा ट्याक्सी चलाउने शीत लामा पनि चियाका पारखी हुन्। उनी हरेक दिन बिहानै एक कप ‘फिक्का चिया’ पिउँछन्। त्यसपछि दुध हालेको चिया खाने समय शुरू हुन्छ। दिनमा १०/१२ कपसम्म चिया पिउँछन्। चिया पिउने उनको २/३ वटा खास ‘अड्डा’ छन्।
“म बिहान उठ्ने बित्तिकै ट्याक्सी लिएर बालुवाटार आइपुग्छु। यहाँ चिया पिउने दुई वटा ठाउँ छन् मेरा। चिया धेरै खायो भने ग्यास्ट्रिक हुन्छ भन्छन्, आफ्नो ज्यान अहिलेसम्म ठिकै छ। जिन्दगीमा चिया त्याग्न त सकिँदैन होला,” उनले भने।

लामा दिनभरी ‘प्यासेन्जर’को खोजीमा बालुवाटारतिर हुन्छन्। “प्यासेन्जर भेटिएन भने काम नै चिया खाने हुन्छ। अरू चालकहरू पनि हुन्छन्। चिया खाँदै साथीभाइका कुरा काटिन्छ। नेताहरूलाई गाली गरिन्छ। देश बिग्रिएबारे सबैले बोल्छन्। दुनोट र चिया खाँदै गफ गर्न मजा हुन्छ।”
हिजोआज चिया पेय पदार्थ मात्रा रहेन, यो संस्कृतिकै रूपमा विकास भइसक्यो।
मानव सभ्यताको भिन्ना–भिन्नै समयबिन्दुमा भएका केही खोज र आविष्कार झैँ चियाको इतिहास पनि एउटा ‘संयोग’सँग जोडिएको छ। चिनियाँ सम्राट शेन नुङ कुनै बगैँचामा विश्राम लिइरहेका बेला उनले पिइरहेको तातोपानी दानी(पट)मा एक्कासि एउटा पात खसेपछि चियाको शुरूआत भएको मानिन्छ। सम्राट नुङले त्यतिबेला त्यही बगैँचामा तातो पानीको गिलास लिएर नबसेको भए शायदै यस्तो मीठो संयोग जुर्थ्यो होला।

करिब पाँच हजार वर्षअगाडि चीनमा चियाको विकास हुँदैगर्दा केही सय किलोमिटर दक्षिणस्थित नेपालमा यो पेय पदार्थ कसैको कल्पनामा पनि थिएन। नेपालमा चियाको बोट १९२० सालतिर भित्रिएको थियो। तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले चीन भ्रमणबाट फर्किंदा चियाको बिरुवा लिएर आएका थिए।
तर चिया पिउने पसल भने विसं. २००० को दशकको शुरूतिर मात्र खुलेका हुन्। डा. दिनेश गोंगलले आफ्नो आत्मकथामा दोस्रो विश्वयुद्ध लडेर फर्किएका ‘लाहुरे’हरू चियाको पारखी भएर फर्किएका र धरहराको फेदमा त्यसैबेला ‘माइलाको चिया पसल’ खुलेको उल्लेख गरेका छन्।
२००७ सालको क्रान्तिका प्रजातन्त्र सेनानी नारदमुनि थुलुङले पनि ‘धरहरा माइलाको चिया पसल’मा चिया पिएको उल्लेख गरेका छन्। मुक्ति सेना गठन गर्नुअघि २००७ सालको शुरूमै काठमाडौँ आएका उनले आफ्नो संस्मरणात्मक पुस्तक बिर्सेका अनुहारहरू : बिर्सन नसकिएका घटनाहरूमा चिया पिएको प्रसंग लेखेका छन्।
थप कथा भिडियोमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
ऋचा थापा
