विदेशी पर्यटकको रोजाइमा सहस्राब्दी पदमार्ग

पदमार्गका अधिकांश स्थानबाट धौलागिरिदेखि अन्नपूर्ण हिमालसम्मका दृश्य एकसाथ अवलोकन गर्न सकिन्छ। नेपालमा मात्र पाइने काँडेभ्याकुर पनि देख्न सकिन्छ।

गण्डकी– तनहुँको दुलेगौंडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको नेपालको एक मात्र मध्यपहाडी क्षेत्रको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)मा विदेशी पर्यटक बढ्न थालेका छन्।

भूकम्प, कोरोना महामारीलगायत कारणले सुस्ताएको यहाँको पदयात्रा पर्यटनमा यो याममा भएको विदेशी पर्यटक आवागमनले उत्साह थपिएको हो। पदयात्राको याम शुरू भएसँगै विभिन्न समूहमा विदेशी पदयात्रीको टोली आउन थालेको पदमार्ग व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए। “अहिले विभिन्न समूहमा विदेशी पदयात्री यो पदमार्गमा आइरहेका छन्,” उनले भने, “विदेशी पर्यटकसँगै आन्तरिक पर्यटकको चाप पनि बढिरहेको छ।”

समितिले सन् २०२० मा न्यूनतम ५० हजार पदयात्री हिँडाउने लक्ष्यका साथ काम थालेकामा कोरोना महामारीका कारण ठप्प बनेको थियो। नेपाल सरकारद्वारा घोषित ‘भिजिट नेपाल–२०२०’ मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य रहेकामा समितिले उक्त लक्ष्य सार्वजनिक गर्दै पूर्वाधार निर्माणलगायत काममा सक्रियता देखाएको थियो।

पदमार्गको समग्र विकास एवं प्रवर्द्धनलाई लक्षित गरी बृहत् गुरुयोजनाअनुसार काम अघि बढाइएको गुरुङको भनाइ छ। पदमार्ग क्षेत्रका पर्यटकीय सम्पदाको पहिचान गर्दै धार्मिक, ऐतिहासिक एवं पुरातात्त्विक सम्पदाको संरक्षण र विकासका साथै पदमार्ग क्षेत्रमा पर्ने रक गार्डेन, चरा पर्यटनका सम्भावना, मिलेनियम गुफा, थुम्काथुम्कीको संरक्षण र उपयोगमा जोड दिने समितिको लक्ष्य छ। 

समितिले पदयात्रा पर्यटनको विकासका लागि पहिचान गरिएका क्षेत्र सुनिश्चित गर्दै कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्य लिएको छ। पदमार्ग क्षेत्रमा पर्यटकको आगमन बढेसँगै यस क्षेत्रमा होमस्टेलगायत पूर्वाधारमा पनि स्थानीयले लगानी बढाइरहेको भैंसेगौँडा सामुदायिक घरबासका अध्यक्ष एवं ट्रेक व्यवस्थापन समितिका सदस्य बालकुमार गुरुङले बताए। पदमार्ग क्षेत्रमा १७ वटा होमस्टे सञ्चालनमा छन्। पर्यटक आगमनले होमस्टे सञ्चालकलाई भ्याई नभ्याइ छ। यस पदमार्ग क्षेत्रमा भैंसेगौँडासहित वालिङ–३ स्थित सिंगारकोट, बुढाकोट र राम्चे, वडा नं ४ स्थित गहते, मनकामना, सुन्तलाबारी, भिरकोट–५ स्थित केघा, शुक्लागण्डकी–१० स्थित रजस्थल, वडा १२ स्थित घरेडीमा सञ्चालनमा छन्।

मिलेनियम ट्रेकको प्रवर्धनलाई नेपाल पर्यटन बोर्डले पनि प्राथमिकतामा राखेको बोर्डका गण्डकी प्रदेश कार्यालय प्रमुख नवीन पोखरेलले बताए। बोर्डको सहयोगमा पदमार्ग क्षेत्रका विभिन्न स्थानमा ३५ वटा संकेत पाटी राखिएका छन्। पर्यटन बोर्डले चालु आर्थिक वर्षमा पदमार्गको प्रवर्द्धनका लागि १० लाख र पूर्वाधार विकासमा ५० लाख रुपैयाँ छुट्याएको महासचिव गुरुङले बताए। गण्डकीको प्रदेश पर्यटन मन्त्रालयले २० लाख छुट्याएको छ। 

पदमार्गका अधिकांश स्थानबाट धौलागिरिदेखि अन्नपूर्ण हिमालसम्मका दृश्य एकसाथ अवलोकन गर्न सकिन्छ। नेपालमा मात्र पाइने काँडेभ्याकुर पर्याप्त देख्न सकिन्छ। 

लोपोन्मुख प्रजातिका गिद्धलगायत धेरै प्रजातिका चरासमेत अवलोकन गर्न सकिने भएकाले यो क्षेत्र चरा पर्यटनका लागि पनि उत्तिकै महत्त्वपूर्ण रहेको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए। पदमार्ग क्षेत्रअन्तर्गत ५२ किलोमिटर क्षेत्रमा जंगल पर्छ।