किसान मना भट्टराईले चिसो मौसम शुरू भएपछि कफीका बिरुवा मर्ने र फल्ने समयमा सेतो गँवारो, तुसारो, छहारीको समस्याजस्ता कारण कफीका बोट सुक्दै जाने गरेको बताइन्।
गुल्मी– चिसो मौसम शुरू भएसँगै गुल्मीका कफी किसानलाई चिन्ता थपिएको छ। चिसो मौसममा तुसारो पर्ने र कफीमा गँवारोको समस्या बढी देखिने भएका कारण कफीका बोटबिरुवा जोगाउन समस्या देखिएको छ।
कृषि ज्ञानकेन्द्र गुल्मीले कफीको जननी जिल्ला गुल्मी कफीको उत्पादन र उत्पादकत्व कसरी वृद्धि गर्न सकिन्छ भन्ने उद्देश्यले जिल्लाका कफी किसानसँग छलफल गरेको थियो। छलफलमा अधिकांश किसानले कफीबाट आफूहरूले सोचेअनुसार प्रतिफल प्राप्त गर्न नसकेको पनि गुनासो गरे।
किसानलाई राज्यले कफीका बिरुवामा अनुदान दिनुभन्दा बरु एक जना ज्यामी बराबरको पारिश्रमिक उपलब्ध गराउनुपर्ने उनीहरूको माग थियो। व्यावसायिक कफीखेती गरी एक हजारदेखि १५ सय बिरुवासम्म कफी लगाउने किसानलाई मासिक एक जना ज्यामी बराबरको रकम उपलब्ध गराउनुपर्ने उनीहरूको माग थियो।
रुरुक्षेत्र गाउँपालिका–१ अन्तर्गत भड्कुवाकी किसान मना भट्टराईले चिसो मौसम शुरू भएपछि कफीका बिरुवा मर्ने र फल्ने समयमा सेतो गँवारो, तुसारो, छहारीको समस्याजस्ता कारण कफीका बोट सुक्दै जाने गरेको बताइन्। भट्टराईजस्तै लामो समयदेखि व्यावसायिक रूपमा कफी खेती गर्दै आएका, भडकुवा, बलेटक्सार, आँपचौर मुसिकोटलगायतका अधिकांश कफी किसानको पनि उस्तै गुनासो थियो। संघ, प्रदेश र स्थानीय तहले कफीमा दिने अनुदान नीतिमा पनि परिमार्जन गर्नुपर्नेमा उनहरूको सुझाव थियो।
स्थलगत अध्ययन नगरी कफी लगाउने नाममा बिरुवामा दिइने अनुदानले किसानलाई फाइदा नपुग्ने किसानको भनाइ छ। कफी किसानले अनुदान दिने प्रणालीमा परिवर्तन गरी कफी लगाएका आधारमा स्थलगत रूपमा निरीक्षण गरेर मात्र किसानलाई अनुदान उपलब्ध गराउने नीति बनाउन आग्रह गरेका थिए। यसबाट मात्र किसानलाई व्यावसायिक कफी खेतीमा आकर्षण गराउन सकिने किसानको सुझाव थियो।
कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले पनि कफी कृषकले राखेका समस्या उपयुक्त भएको भन्दै कफीमा दिने अनुदानको नीतिलाई परिवर्तन गरी कसरी व्यावसायिक रूपमा थप आकर्षण गर्न सकिन्छ भन्ने विषयमा सम्बन्धित निकायलाई पनि सोचनीय विषय रहेको बताए। कफीको उत्पादन र प्रविधि विस्तारका लागि कार्यालयले आगामी दिनमा थप प्रभावकारी योजना बनाउने उनले स्पष्ट पारे।
गुल्मीमा अहिले २४१ हेक्टर क्षेत्रफलमा कफीखेती भइरहेको छ। जिल्लामा यस वर्ष ३० मेट्रिक टन कफी उत्पादन भएको थियो। जसअन्तर्गत आठ टन ग्रीनविन मात्र तेस्रो मुलुकमा निर्यात भएको छ। पछिल्लो समयमा गुल्मीमा कृषि ज्ञानकेन्द्र, प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कफी सुपरजोन, आँपचौर कफी विकास केन्द्र, कफी अनुसन्धान केन्द्रलगायत स्थानीय तहले कफीखेतीमा काम गर्दै आइरहेका छन्।
जिल्लामा यति धेरै कफीका क्षेत्रमा काम गर्ने संघसंस्था भए पनि कफी किसान भने सेतो गँवारो र तुसारोको समस्याबाट सधैँ समस्या भोग्दै आइरहेका छन्। गुल्मीमा पछिल्लो तथ्यांकअनुसार कफी खेतीमा आबद्ध बनेका किसानको संख्या एक हजार ८०० छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
