गाजामा इजरायलको आक्रमणमा १९३ जनाको मृत्यु

युद्धविराम अन्त्यसँगै इजरायलले गाजामा थालेको आक्रमणमा परी १९३ जनाको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

काठमाडौँ– इजरायलले गाजामा पुनः आक्रमण थालेयता १९३ जनाको मृत्यु भएको छ। हमास नियन्त्रित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले शुक्रबारदेखि थालेको आक्रमणमा परी १९३ प्यालेस्टिनीको मृत्यु भएको जनाएको हो।

सो क्रममा ६५२ जना घाइते भएको बताइएको छ। बीबीसीले उल्लेख गरेअनुसार गाजामा मारिनेको संख्या १५ हजार पुगेको छ। ४० हजारभन्दा बढी घाइते भएका छन्। इजरायली आक्रमणका कारण प्रभावित हुनेमा ७० प्रतिशतभन्दा बढी महिला र बालबालिका रहेका छन्। गाजाले भिडभाड भएका क्षेत्रहरूमा बमबारी भएको जनाएको छ।

नोभेम्बर २४ मा इजरायल र हमासले अल्पकालीन युद्धविराम गरेपछि पहिलो पटक शुक्रबार बिहान गाजामा आक्रमण भएको हो। इजरायल र हमासबीच भएको अस्थायी मानवीय युद्धविराम स्थानीय समयअनुसार शुक्रबार बिहान ७ बजे समाप्त भएको थियो।

यसैबीच इजरायलले हमाससँगको वार्तामा संलग्न आफ्ना अधिकारीहरूलाई कतारबाट फिर्ता बोलाएको छ। युद्धविरामसम्बन्धी वार्तामा ‘अवरोध’  सिर्जना भएको भन्दै इजरायली गुप्तचर अधिकारीहरूलाई कतार छोड्न आदेश दिइएको गुप्तचर एजेन्सी मोसादले जनाएको छ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा मोसादका प्रमुख डेभिड बर्नियाले बेन्जामिन नेतान्याहुको निर्देशनअनुसार दोहामा रहेको आफ्नो टोलीलाई इजरायल फर्कन आदेश दिएको उल्लेख छ।

हमासले सूचीअनुसार महिला र बालबालिकालाई रिहाइ नगरेको, सहमतिको पूर्ण पालना नगरेको भन्दै इजरायलले आफ्ना अधिकारीहरूलाई फिर्ता बोलाएको हो।

कतारले युद्ध शुरू भएदेखि हमास र इजरायलबीचको वार्तामा मध्यस्थता गर्दै आएको छ। एक साता लामो अस्थायी युद्धविराम र बन्धकहरूको रिहाइमा कतारले महत्त्वपूर्ण भूमिका निभाएको थियो। युद्धविरामका क्रममा हमासले बन्धक बनाएकाहरूलाई रिहा गरेको थियो भने इजरायलले जेलमा रहेका प्यालेस्टिनीहरूलाई छोडेको थियो।