पूर्वी नेपालमा बढ्यो हात्ती आतङ्‌क

हात्तीको हुल नै सडकमा निस्किएपछि बेलबारी–११ लक्ष्मीमार्गको केशलिया पुलमा बिहीबार साँझ सडक जाम भएको थियो। हात्तीले बाटो क्रस गर्ने क्रममा सवारीधनीको भागाभाग भएको थियो।  

सुन्दरहरैँचा– पूर्वी नेपालको मोरङ, सुनसरी तथा झापा जिल्लामा वर्षेनी जंगली हात्तीको आक्रमणले मानवीय तथा भौतिक संरचनामा क्षति पुग्ने गरेको छ।

सुनसरीको इटहरी–२ स्थित शान्तिझोडाको बुढासुब्बा चोकमा बिहीबार राति हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भयो। जंगली हात्ती मानव बस्तीमा प्रवेश गर्न लागेपछि राति हात्ती खेदाएर घर फर्किने क्रममा २५ वर्षीय  रविन खड्कालाई हात्तीले आक्रमण गरेको थियो। 

सुनसरीका डीएसपी नवीनसिंह भण्डारीका अनुसार खड्काको उपचारका क्रममा धरान घोपाक्याम्पमा मृत्यु भएको थियो। उनको परिवारलाई इटहरी उपमहानगरपालिकाले एक लाख क्षतिपूर्ति दिने जनाएको छ। थप घटना हुन नदिन रातको समयमा जिल्ला वनका वनरक्षक, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित संयुक्त टोलीले आवश्यकअनुसार गस्ती गर्ने उपमहानगरका प्रमुख हेमकर्ण पौडेल बताउँछन्। 

चारकोशे जंगल क्षेत्रमा हिउँदको समयमा हरेक वर्ष हात्तीको चलहपहल बढ्ने गरेकोले मानवीय तथा भौतिक संरचनामा हानी हुने गरेको छ। इटहरीस्थित तालतलैया, पानीपिया तथा शान्तिनगर क्षेत्रमा दर्जनौँ जंगली हात्तीको समूहले स्थानीय बस्तीमा वितण्डा मच्चाउने गरेको प्रहरीको भनाइ छ। इटहरी–२ मा हात्तीको बथान गाउँ पस्न लागेपछि स्थानीय हात्ती धपाउन जुटने गरेका छन्। यहाँको राईचोक नजिक जंगली हात्तीले एक स्थानीयको घर भत्काएको छ।

मोरङको बेलबारी नगरपालिकाको विभिन्न वडामा हात्तीले उपद्रो मच्चाए पछि नगरप्रमुख दिलप्रसाद राई तथा उपप्रमुख नितु थापा कोइरालासहित जनप्रतिनिधिले अनुगमन गरेका छन्। बेलबारी–१ मा किसानले लगाएको धानबालीलगायत अन्य नगदे बालीनालीमा हात्तीको बथानले नष्ट गर्दा क्षति भएको नगरप्रमुख राईले बताए। 

पाकेको धानबाली, केराखेती, सिमल तरुललगायत बालीनाली हात्तीको बथानले नष्ट गरेको छ। केही दिनयता पुर्वोत्तर मोरङका विभिन्न क्षेत्रमा हात्तीको हुल नै गाउँ पसेपछि स्थानीय बासिन्दा रातभर जाग्राम बस्न बाध्य भएका छन्। हात्तीको हुल सुन्दरहरैँचा, बेलबारी, लेटाङ, केराबारीलगायत चारकोशे जंगल नजिकको बस्तीमा पसेको हो।

छावासहित दुई दर्जनभन्दा बढी हात्ती गाउँ पस्ने गरेको स्थानीय नरेन्द्र नरेन्द्र बस्नेतले बताए। बेलबारी ११ लक्ष्मीमार्गमा राती हात्तीले दुई वटा घर भत्काएको छ। रातभर बेलबारी नगरपालिकाको दमकल र इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले साइरन बजाएर जंगलतर्फ हात्ती भगाउने कोसिस गर्ने गरेको बस्नेतले सुनाए। 

हात्तीको हुल नै सडकमा निस्किएपछि बेलबारी–११ लक्ष्मीमार्गको केशलिया पुलमा साँझ सडक जाम भएको थियो। हात्तीले बाटो क्रस गर्ने क्रममा सवारीधनीको भागाभाग भएको थियो। 

शुक्रबार बिहान झापामा हात्तीको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ। हल्दीबारी गाउँपालिका–३ स्थित रणकाली सामुदायिक वनका चौकीदार अन्दाजी ४० वर्षीय धनबहादुर वन शुक्रबार बिहान पौने ११ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

वनमा पुगेका बेला जंगलबाट आएको एउटा हात्तीले उनलाई लछारपछार गरी कुल्चिएर मारेको झापा प्रहरीले उल्लेख गरेको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। साथै केही दिनअघि जंगली हात्तीको आक्रमणबाट झापामा एकको ज्यान गएको छ। दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको हो। साँझको समयमा  शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जंगलमा तामाङलाई हात्तीले आक्रमण गरेर मृत्यु भएको झापा डिभिजन वन अधिकृत मेघराज राईले बताए।

गत वर्ष पनि मोरङको सुन्दरहरैंचा–१० स्थित सुकुना सामुदायिक बनमा घाँस काट्न जाँदा जंगली हात्तीको आक्रमणबाट ३२ वर्षीय  सीता पराजुलीको मृत्यु भएको थियो। गत वर्ष नै त्रिवेणीचोक उत्तर जंगलमा  घाँस काट्न जाँदा हात्तीको आक्रमणबाट ७५ वर्षीय जयप्रसाद बास्तोलाको पनि मृत्यु भएको थियो। 

मोरङको केराबारी, लेटाङ, सुन्दरहरैँचा, मिक्लाजुङ, बेलबारी लगायतका पालिकाको मानवस्तीमा घुमन्ते जंगली हात्तीले दुःख दिने गरेको सहायक वन अधिकृत लालबहादुर माझीले बताए। 

जंगली हात्तीलाई कसैले जिस्काउने तथा जथाभाबी लखेट्ने गर्दा मान्छेमा आक्रमण गर्ने भएकोले यसतर्फ सचेत रहन डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले आग्रह गरे। हात्ती जंगलबाट मानव बस्तीमा प्रवेश गरेको सूचना एक अर्कामा आदानप्रदान गरेर रातमा उज्यालो बत्ती र साइरनको व्यवस्था गरिएको उनले जानकारी दिए।

जंगल नजिकको बस्तीमा घरेलु मदिरा उत्पादन गरेर बिक्री वितरण नगर्नुसमेत उनले सुझाए। हात्तीले स्थानीय जाँड रक्सी खान मन पराएर मान्छेलाई आक्रमण गर्नसक्ने उनको भनाइ छ।