लागु औषधविरुद्ध जनचेतना जगाउन प्रहरीको ‘लालटिन अभियान’

हुम्ला, मुगुलगायत हिमाली जिल्लामा पनि लागुऔषध ओसारपसारको जालो फैलिन थालेपछि लालटिन अभियानमार्फत गाउँ–गाउँमा जनचेतना फैलाउन थालिएको छ। 

काठमाडौँ– कर्णाली प्रदेश लागुऔषध कारोबार र प्रयोगको ‘हट स्पट’ बनेको भन्दै प्रहरीले यसको ओसारपसार र प्रयोग नियन्त्रण गर्न विद्यालयहरूमा ‘लालटिन अभियान’ शुरू गरेको छ।

सडकको पहुँच पुगेसँगै हुम्ला, मुगुलगायत हिमाली जिल्लामा पनि लागुऔषध ओसारपसारको जालो फैलिन थालेपछि लालटिन अभियानमार्फत गाउँ–गाउँमा जनचेतना फैलाउन थालिएको हो। 

सभ्य, शान्त र लागु औषधमुक्त समाज बनाउनु अभियानको प्रमुख उद्देश्य रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

अभियानअन्तर्गत प्रहरीले मुगुका माध्यमिक विद्यालयका विद्यार्थी, बाल क्लब तथा क्याम्पसमा नै पुगेर कक्षा सञ्चालन गर्दै लागुऔषध ओसारपसार  रोकथाम र प्रयोगका नकारात्मक असरबारे जानकारी दिइरहेको छ।

साथीको लहैलहैमा लागेर बजारमा अवैध रूपमा व्यापार गर्ने युवा पुस्ता र विलासी जीवन जिउन तत्काल पैसा कमाउने लालचमा परि लागू औषधको सेवन, व्यापार र ओसारपसार बढेको मुगुका डीएसपी वीरेन्द्र थापाले बताए।

यसले भुसमा आगो सल्केझैँ युवा र समाज लागु औषधको जालोमा फस्दै गएको उनको भनाइ छ। 

अन्य जिल्लाका विद्यालयमा पनि जनचेतना कक्षा सञ्चालन हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ।