आधुनिकतामा समाहित हुँदै काँठ क्षेत्र [तस्वीरहरू]

आधुनिकताको नाममा जग्गा प्लटिङ गर्दा प्राकृतिक सौन्दर्यको दोहन भएको छ। यहाँको हरियाली अब फाट्टफुट्ट मात्रै देख्न सकिन्छ।

शहरमा परिणत हुँदै गएका काठमाडौँ उपत्यकाका काँठ क्षेत्र। तस्वीर: नान

शहरबजारदेखि बाहिरको बस्तीलाई काँठ क्षेत्रका रूपमा चिनिन्छ। काँठको रहनसहन केही शहरको जस्तो देखिन्छ, न त केही गाउँको। 

सामान्य बोलीचालीको भाषामा काँठ भनेको शहर पनि होइन र गाउँ पनि। काठमाडौँ उपत्यकामा चक्रपथ बाहिरको ग्रामीण क्षेत्रलाई काँठ भनिन्छ।

हेर्दा शहरिया जनजीवनजस्तो तर ग्रामीण जनजीवनजस्तो पनि देखिने काँठको जनजीवन सदियौँदेखि आफ्नै प्रकारले चल्दै आएको छ। 

काठमाडौँ उपत्यकामा काँठको छुट्टै पहिचान र परिचय थियो। यहाँ आत्मीयता, आफ्नोपन र आदर्श समाज थियो। चक्रपथ भित्रको स्थानलाई काँठका मानिसहरू शहर भन्ने गर्थे। 

उनीहरू उच्चशिक्षा, स्वास्थ्य, रोजगारीलगायत सवालमा शहरप्रति निर्भर थिए। आफ्नै मूल्य, मान्यता र परम्पराका कारण काँठ जीवनशैली जीवन्त थियो।

तर, अहिले काँठ क्षेत्र काँठको रूपमा रहन सकिरहेको छैन। शहर बन्ने क्रममा छ। यो कायापलट भएको धेरै वर्ष भएको छैन। काँठ, अब काँठजस्तो रहेन । समयको आरोह अवरोहबाट काँठ अछुतो रहन सकेन। 

समयले काँठलाई पनि सकारात्मक र नकारात्मक परिवर्तनमा समाहित हुन बाध्य बनायो। करिब एक दशक अवधिमा काँठमा ठूलो परिवर्तन आएको छ। 

यहाँको हरियाली लगभग सकिएको छ। काँठको जग्गा खरिदबिक्री यसरी बढेको छ कि, जग्गा होइन त्यहाँ कुनै अमूल्य चिजको कारोबार भइरहेको छ।

आधुनिकताको नाममा जग्गा प्लटिङ गर्दा प्राकृतिक सौन्दर्यको दोहन भएको यत्रतत्र देख्न सकिन्छ। काँठ शहरजस्तै प्रदूषित बनेको छ। फोहोर बनेको छ।