उकालोकर्मी त्रिपाठीलाई नाफिज–कृषि पत्रकारिता पुरस्कार

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए।

काठमाडौँ– उकालोका वरिष्ठ सम्वाददाता रितेश त्रिपाठी नाफिज–कृषि पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्। 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को सातौँ महासभा तथा १४औँ वार्षिक साधारणसभाको अवसरमा शनिबार त्रिपाठीलाई नगद ५० हजार रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए। त्रिपाठी डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन्।

नाफिजले आफ्ना सदस्यलाई पुरस्कारका लागि आह्वान गरेको र जुरीको निर्णयअनुसार पुरस्कार प्रदान गरिएको नाफिजका महासचिव नवीन ढुंगानाले बताए। उनका अनुसार चार वटा विधा पाँच जना सम्मानित भएका हुन्।

सोही अवसरमा ५० हजार राशिकै बीमा पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय रिन खत्री र भिमा पन्थी पुरस्कृत भए। 

यस्तै, भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कार पत्रकार रोबिन पौडेललाई प्रदान गरिएको छ। उक्त पुरस्कारको राशि पनि ५० हजार रुपैयाँ नै रहेको छ। 

त्यस्तै, ५० हजार रुपैयाँ राशि नै रहेको नाफिज सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार सीआर भण्डारी सम्मानित भए।