जापोरिजिया आणविक प्लान्टमा विद्युत् काटिँदा दुर्घटनाको खतरा बढ्यो: युक्रेन

युक्रेनले विद्युत् लाइन काटिँदा जापोरिजिया आणविक केन्द्र ‘दुर्घटना’को जोखिममा परेको जनाएको छ।

युक्रेनले शनिबार आफ्नो विद्युत् ग्रिडलाई जापोरिजिया आणविक केन्द्रसँग जोड्ने दुई वटा विद्युत् लाइन रातारात काटिएको र उक्त प्लान्ट ‘दुर्घटना’को जोखिममा परेको जनाएको छ।

गत वर्ष रुसी सेनाले कब्जा गरेदेखि नै यो प्लान्ट युद्धको केन्द्रमा रहँदै आएको छ र दुवै पक्षले एकअर्कालाई आफ्नो सुरक्षामा सम्झौता गरेको आरोप लगाउँदै आएका छन्।

युक्रेनको आणविक ऊर्जा सञ्चालक निकायले एक विज्ञप्तिमा भनेको छ, “पूर्ण विद्युत् कटौतीका कारण आणविक ऊर्जा संयन्त्रले २० वटा डिजेल जेनरेटरबाट आफ्नो आवश्यकता पूरा गर्न थालेको छ।”

युक्रेनी विशेषज्ञहरूले तुरुन्तै अफ–साइट पावर पुनः स्थापना गर्न सक्षम हुनुअघि नै यो प्लान्ट ‘आणविक र विकिरण दुर्घटनाको संघारमा’ रहेको बताएका छन्। एएफपीले युक्रेनको घटनाको विवरण तत्काल पुष्टि गर्न सकेको छैन।

रुसद्वारा परिचालित अपरेटरले प्लान्टले रातभर डिजेल जेनरेटरको सहारा लिएको र सुरक्षित सीमाभित्र सञ्चालन गरेको बताएका छन्। सुरक्षा उल्लंघनको रिपोर्ट नगरिएको पनि उनको भनाइ छ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)का अनुसार गत वर्ष द्वन्द्व शुरू भएयता प्लान्ट बाह्य ऊर्जाबाट काटिएको यो आठौँ पटक हो। आईएईएका प्रमुख राफेल ग्रोसीले भने, “आईएईएले आणविक दुर्घटना रोक्न सक्दो प्रयास गरिरहेको छ। म सबै पक्षलाई प्लान्टलाई थप खतरामा पार्ने कुनै पनि कदम नचाल्न पनि आह्वान गर्दछु।”

गत वर्षदेखि आईएईएका अधिकारीहरू प्लान्टस्थल अनुगमनमा छन्। यसलाई अत्यधिक तातो हुनबाट रोक्न निरन्तर मर्मत सम्भारको आवश्यकता पर्दछ।

यसले सेप्टेम्बर २०२२ मा युक्रेनको ग्रिडमा बिजुली आपूर्ति गर्न बन्द गरेको थियो। २१ महिनाको द्वन्द्वमा गोलाबारी र ड्रोन आक्रमणले यो क्षेत्र बारम्बार प्रभावित हुँदै आएको छ।