धनकुटामा ‘वाडांगी र पापनी’को रौनक

ढोल र मादलको आवाजले गुञ्जायमान जिल्लामा आउने आगन्तुक तथा पाहुना पर्यटकले अहिले ढोलनाच, मारुनी मादलको रमितासँगै स्थानीय परिकार र पेय पदार्थको आनन्द पनि लिन पाउँछन्। 

धनकुटा– धनकुटामा एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने (वाडांगी) पर्वको रौनक छाएको छ। विशेष गरेर जिल्लाका चार स्थानीय तहमा रहेका राई समुदायले चार दिनदेखि १५ दिनसम्म यो पर्व मनाउने गर्छन्। 

अहिले धनकुटा नगरपालिका र शहिदभूमि गाउँपालिकाको सबै ठाउँमा ढोलनाच, मारुनी नाच तथा भोज खाएर चाड मनाउने क्रम जारी छ।  पाख्रिबास नगरपालिकाको फाङ्दुवा क्षेत्रमा गत बिहीबार यस वर्षको वाडांगी चाड सकिएको छ भने साँगुरीगढी गाउँपालिकाको आहाले–महाभारत क्षेत्रमा पनि पापनी तथा वाडांगी शनिबार सकिएको छ।

आफ्ना इष्टदेव बराह, मार्गा, जिमी मार्गा, सुब्बा मार्गा, फुडाहाङ (बुढाहाङ)को दैविक आह्वान गर्ने तथा पितृ पूजा (श्राद्ध) गरेर यो पर्व मनाउने गरिन्छ। समुदायअनुसार कुखुरा, सुँगुर, परेवा, राँगा आदिको बलि पूजा गर्ने साथैजमरा तथा सयपत्री फूलको माला लगाएर यो पर्व मनाइन्छ।

ढोल र मादलको आवाजले गुञ्जायमान जिल्लामा आउने आगन्तुक तथा पाहुना पर्यटकले अहिले ढोलनाच, मारुनी मादलको रमितासँगै स्थानीय परिकार र पेय पदार्थको आनन्द पनि लिन पाउँछन्। 

यसैगरी, धनकुटा नगरपालिकामा रहेका आठपहरियालाई तोकिएको समयसीमाभित्र वाडांगी चाड सक्नैपर्ने चटारो छ। वर्षभरि देहान्त भएका आफन्तको बरखी बारेका तीर्थालु दुःख बहाउनका लागि बराह धामको सामूहिक तीर्थयात्रासँगै शुरू भएको चाड औँसीभन्दा एक दिनअघि सक्न आठपहरिया समुदाय व्यस्त छन्।

२०३० सालसम्म छ किपट (बिर्ता)सहित नौ पगरीको राजसी अधिकार पाएका यी समुदायको संस्कृति जीवन्त छ। २०५८ सालबाट आफूहरू राई नभएको जनाउँदै आठपहरिया जातिको नामबाट पहिचान खोजिरहेका यो समुदाय अझै पनि आफ्नो परापूर्वकालीन सांस्कृतिक तथा धार्मिक कानूनमा सञ्चालित छ। तथापि यो समुदायले आफ्नो सबैभन्दा ठूलो पर्व वाडांगीमा खुलेर आफूसँग भएको ऋण, धन खर्च गरेर चाड मनाउने गरेका छन्।

कार्तिक शुक्ल पूर्णिमाको चार दिनअघिबाट बराह क्षेत्रको सामूहिक तीर्थयात्रासँगै चाड शरू हुने किराँत आठपहरिया समाजका केन्द्रीय सदस्य कोमल आठपहरियाले जानकारी दिए। १५ दिनभन्दा बढी मनाइने यो पर्वमा आफ्ना सबै काम छाडेर यो समुदाय एक वर्षभित्रमा आफ्नो परिवारमा जन्मदेखि मृत्युसम्ममा घटेका सबै खालका सांस्कारिक घटनाबाट चोखिन व्यस्त छन्।

विशेषगरेर वर्षभरि मृत्यु भएकाका बरखी बारेका आफन्त यही पर्वमा ५२ किमी दक्षिणमा रहेको आफ्ना मुख्य इष्टदेव बराह धाममा तीर्थ गएर उनलाई चाडमा आउने निम्तो दिने र कपाल खौरेर सप्तकोशीसँगै रहेको कोकाहा खोलामा दुःख बहाउने चलन रहेको उनले बताए।

यस अवधिमा यस क्षेत्रमा बालीनाली थन्क्याउन वा छुन नहुने, पापनी चाड अवधिभरि कुनै पनि महिला वा पुरुष गाउँ छाडेर बाहिर गएमा दण्डित गरिने धार्मिक कानूनसमेत रहेको राईले बताए। चाडको अन्तिम दिन छरिएर रहेका सबै पाँचवटा गढीघरअन्तर्गत ढोलनाच टोली मुख्य पुजारीको गढीघरमा भेला भई उल्टो पापनी नाचेर फुडाहाडलाई बिदा गर्ने चलन छ। त्यसपछि एक वर्षको लागि ढोल झ्याम्टा नचलाउने र सोही दिन सरस्वती थानमा मारुनी मादल नाचेर मादल बजाउन फुकुवा गरेर आफ्नो भाकल बुझाएपछि पापनी पर्वको अन्त्य हुने राईले जानकारी दिए।

उता, पाख्रिबास नगरपालिका– ३ फाड्दुवा, कसेनी र वडा नं १० चुनवाङका आठपहरियाले पनि एक हप्ता वाडांगी मनाएका छन्। धनकुटा नगरपालिकामा राईबाट आठपहरिया जातिमा सूचीकृत हुन स्थापित आठपहरिया समाजले २०६० सालतिर समटेको यो क्षेत्रमा भने परिमार्जन गरेर वाडांगी मनाउने गरिएको छ।

यो क्षेत्रमा १५ दिन मनाइने वाडांगी परिमार्जन गरेर भाइटिकाको दिनबाट एक हप्तासम्म मनाइँदै आएको वडा नं ३ का वडाध्यक्ष सरोज राईले जानकारी दिए। राईबाट पछिल्लो समयमा नयाँ नाम आठपहरिया पाएका यहाँका समुदायले यहाँको एकमात्र सुब्बा मार्गा, गढीघर र घर–घरमा पितृ पूजा गरेर चाड मनाउने गरेका छन्।

यहाँका समुदायले सप्तकोशी किनारमा रहेको बराहक्षेत्र तीर्थ जाने चलनको अन्य गरेर धनकुटा र भोजपुरको संगममा रहेको अरुण नदीको सुनबालुवा भन्ने स्थानमा गएर कपाल खौरेर दुःख बगाउने र त्यहाँबाट पानी ल्याएर घर चोख्याउने गरेका छन्।

यस्तै, साँगुरीगढी गाउँपालिका क्षेत्रको साबिक महाभारत तथा वडा नं ८ र ९ का राई समुदायले शनिबार वाडांगी समापन गरेका छन्।