शैक्षिक भ्रमणको प्रमुख गन्तव्य बन्दै गोरखा दरबार संग्रहालय

पछिल्लो चार महिनाको अवधिमा ३० हजारभन्दा बढीले गोरखा संग्रहालयको अवलोकन गरेका छन्। 

गोरखा– गोरखाको इतिहास अध्ययन गर्ने थलोका रूपमा चिनिँदै आएको गोरखा दरबार संग्रहालय पछिल्लो समय शैक्षिक भ्रमणको प्रमुख गन्तव्यको बन्न थालेको छ।

शैक्षिक भ्रमणको याम शुरू भएसँगै संग्रहालयमा गोरखाको इतिहास अध्ययन गर्न आउने विद्यार्थीको अत्यधिक चाप बढेको हो। 

हाल विभिन्न जिल्लाबाट दैनिक १०० भन्दा बढी विद्यार्थीहरू घुम्न र अध्ययनका लागि आउने गरेको संग्रहालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए। ‘‘गएको चार महिनाको अवधिमा मात्र ३० हजारभन्दा बढीले संग्रहालयको अवलोकन गरिसकेका छन्। त्यसमा अधिकांश शैक्षिक भ्रमणमा आउने विद्यार्थी छन्,” उनले भने।

गत साउनमा छ हजार २४९, भदौमा चार हजार ८४९, असोजमा पाँच हजार ३०९ र कात्तिकमा १४ हजार ३८० जनाले संग्रहालयको अवलोकन गरेको कार्यालयको तथ्यांक छ। मंसिरमा २० हजारभन्दा बढीले संग्रहालय अवलोकन गर्ने अनुमान गरिएको प्रमुख अधिकारीले बताए। 

शैक्षिक भ्रमणको सिजन शुरू भएपछि कात्तिकदेखि संग्रहालय घुम्न आउनेको संख्या ह्वात्तै वृद्धि भएको उनले सुनाए। संग्रहालयमा तत्कालीन गोरखा राज्यको इतिहाससँगै संस्कृति, परम्परा रीतिरिवाज झल्कने पुरातात्त्विक महत्वका वस्तुको समेत अवलोकन गर्न पाइन्छ। 

“संग्रहालयमा पृथ्वीनारायण शाहसँग सम्बन्धित ऐतिहासिक वस्तुको अवलोकन गर्न सक्ने व्यवस्था मिलाइएको छ, गोरखा राज्य र पृथ्वीनारायण शाहको इतिहास अध्ययनका लागि धेरैजसो विद्यार्थी गोरखा संग्रहालयको अवलोकन गर्न आइपुग्छन्,” प्रमुख अधिकारीले भने।

नेपाल एकीकरणको थालनी भएको तत्कालीन गोरखा राज्यको इतिहास बुझ्ने उद्देश्यले गोरखा संग्रहालयको भ्रमणमा विद्यार्थी आउने गरेको उनको भनाइ छ। “अधिकांश जिल्लाका विद्यालयबाट शैक्षिक भ्रमणका लागि विद्यार्थी लिएर गोरखा संग्रहालय आउने गरिएको पाइन्छ,” प्रमुख अधिकारीले भने, “यसले पनि संग्रहालय शैक्षिक भ्रमणको मुख्य रोजाइमा पर्ने गरेको बुझ्न सकिन्छ।”

मुख्य गरी हरेक वर्षको कात्तिकदेखि पुससम्मको अवधि शैक्षिक भ्रमणका लागि उपयुक्त मानिन्छ। तल्लो दरबारको नामले चिनिने गोरखा संग्रहालय भएको भवन आफैँमा पनि परम्परागत पहिचान बोकेको वास्तुशैलीमा बनेकाले त्यसको अवलोकनसमेत शैक्षिक भ्रमणमा आउने पर्यटकको रोजाइमा पर्ने गरेको उनले बताए। 

संग्रहालयमा पृथ्वीनारायण शाहको ५२ हात लामो चिनासहित तैलचित्र कक्ष, वंशावली कक्ष, जन्मकुण्डली कक्ष, दिव्योपदेश कक्ष, हातहतियार कक्ष, धार्मिक परम्परागत कक्ष, जनजातिको झाँकी कक्ष, परिचयात्मक कक्ष, भाँडावर्तन कक्ष, श्रव्यदृश्य कक्ष, चैत्य कक्ष र हस्तलिखित गरी १२  प्रदर्शनी कक्षसमेत प्रदर्शनीका लागि राखिएको छ।