‘फोहोरको गन्ध’ले कृषि उत्पादनमा ह्रास, बस्ती स्थानान्तरण गर्न माग

ककनी गाउँपालिकाका सिसडोल, ओखरपौवा र चाउथे क्षेत्रका स्थानीयमा फोहोरका कारण विभिन्न स्वास्थ्य समस्या आउन थालेको छ। खेतबारीमा उब्जनीसमेत हुन छाडेको छ।

काठमाडौँ– नुवाकोटको सिसडोल र ओखरपौवाका स्थानीयले २०६२ सालमा बञ्चरेडाँडा र सिसडोल क्षेत्रमा फोहोर विसर्जन गर्न सहमति दिएका थिए।

‘एक घर, एक रोजगार’, सडक कालोपत्रे हुने, जागिर पाइने र गाउँमा नै ठूलो अस्पताल बन्ने आशामा फोहोर फाल्न सहमति दिएका स्थानीय अहिले त्यसैको पीडा खेप्न बाध्य छन्। 

फोहोरले घेरिएको ककनी गाउँपालिका–१ का सिसडोल, ओखरपौवा र वडा नं ३ स्थित चाउथे क्षेत्रका मानिसमा विभिन्न स्वास्थ्य समस्या आउनेदेखि खेतबारीमा उब्जनीसमेत हुन छाडेको छ। खेतीयोग्य जमिन फोहोरले पुरेको र बाँकी रहेको जमिनमा पनि उब्जनी हुन छाडेको स्थानीय कृष्णहरि ढुंगानाले बताए। 

अन्न उम्रिए पनि फल लागेपछि पात र फललाई किराले खानेलगायत समस्यासमेत भोग्नुपरेको उनको भनाइ छ। “आलु, काउली, गोलभेँडा र सागलगायत तरकारीमा फोहोरको गन्धले विभिन्न किराहरू लाग्न थालेको छ,” उनले भने, “कृषि उत्पादनमा विनाश गरेको छ। पशुपंक्षीमा समेत नयाँ–नयाँ रोग निस्किन थालेको छ।” 

किसानले फोहोरबाट निस्केको लिच्चड खोलामा मिसिँदा खेतबारीमा उब्जनी हुन छाडेको गुनासो गरेका छन्। उत्पादन भएको फलफूल र तरकारीसमेत फोहोरमा उत्पादन भएको भनेर कसैले किन्न नमान्ने ढुंगानाले गुनासो गरे।

राज्यले काठमाडौँ उपत्यकाको फोहोर वैज्ञानिक व्यवस्थापन गर्न नसक्दा समस्या आएको अर्का कृषक विश्वनाथ बजगाईंले बताए। “उत्पादन भएका फलफूलहरू बाहिरबाट हेर्दा राम्रो देखिने तर सुन्तला,ज्यामिर,निबुवा,जुनारमा भित्र किरा लागेर खानै नहुने हुन थालेको छ,” उनले भने। 

फोहोरको गन्धले बस्न नसक्ने अवस्था आएको र बस्ती स्थानान्तरण गरिदिन स्थानीयको माग छ। “फोहोरको गन्धको कारण कृषिबालीमा यति ठूलो असर गरेको छ भने मान्छेमा कस्तो परिरहेको होला?,” उनले भने, “त्यसैले राज्यले यो बस्तीलाई नै स्थानान्तरण गरिदिनुपर्छ।”