यी हुन् विश्वमै सबैभन्दा बढी उमेरका तिम्ल्याहा दाजुभाइ, सबैले देखे चौथो पुस्ता

आफूहरू यति धेरै वर्षसम्म बाँच्नुको रहस्यबारे ल्यारी भन्छन्, ‘हामीले धुम्रपान, मध्यपान र नसा कहिल्यै गरेनौँ।’

तपाईंले कति वर्ष उमेरसम्मका जुम्ल्याहा अथवा तिम्ल्याहालाई देख्नुभएको छ? सम्झिँदै गर्नुस् त।

अहिले हामी तपाईंलाई विश्वका सबैभन्दा बढी उमेरका तिम्ल्याहा दाजुभाइसँग भेट गराउन गइरहेका छौँ। उनीहरू हुन् ल्यारी अल्देन ब्राउन, लोन बर्नाड ब्राउन र जेन क्यारोल ब्राउन। 

अमेरिकाका यी तिम्ल्याहा दाजुभाइले गएको डिसेम्बर १ मा आफ्नो ९३औँ जन्मदिन मनाए। जीवित ज्येष्ठ तिम्ल्याहाको विश्व रेकर्ड बनाएका उनीहरूको जन्म सन् १९३० मा कान्सस राज्यमा पर्ने काल्भेस्टामा भएको थियो। 

"यो जन्मदिनमा हामीहरूले कम्तीमा एक पटक सँगै हुने प्रयास गर्‍याैँ, तर भाइ जेन ओक्लाहोमा बस्छन् र उनी यात्रा गर्न सक्ने अवस्थामा छैनन्," ल्यारीले भने।

यी दाजुभाइ अघिल्लो वर्ष अर्थात् आफ्नो ९२ औँ जन्मदिनमा भने सँगै थिए। एकअर्काका परिवारसँग भेटघाट गरेका थिए। मिठो सम्झना संगालेका थिए। त्यतिबेला निकै रमाइलो भएको ल्यारी बताउँछन्।

बसाइ अलगअलग भए पनि उनीहरूको सम्बन्ध सुमधुर छ। सम्भव भएसम्म उनीहरू एकएर्काको परिवारसँग भेटघाट गर्ने, छोराछोरी–नातिनातिनासँग गफ गर्दै रमाइलो गर्ने गर्छन्। तर यस्तो अवसर भने कहिलेकाहीँ मात्र जुर्छ।

तीन दाजुभाइमध्ये ल्यारी लोन र जेनभन्दा केही मिनेट अगाडि जन्मेका थिए। यी तीम्ल्याहाका तीन जना दाइ र एक दिदी थिए। अहिले उनीहरू सबैको निधन भइसकेको छ।

यी तीनै जनासँग बाल्यकाल तथा जवानीका मिठा सम्झना छन्। ७ वर्षको हुँदा उनीहरूको परिवार बसाइँसराइ गरेर मिसौरीमा बस्न थाले। त्यहीँको एक विद्यालयमा भर्ना भए र विद्यालय तहको पढाइ पूरा गरे।

उनीहरू एकअर्काबीच विभिन्न कुरामा मन मिल्दैन थियो, असहमति भइरहन्थ्यो। तिम्ल्याह हुनुको एउटा फाइदा थियो, खेल्नको लागि एकअर्काको साथ भइरहन्थ्यो। एकअर्कालाई माया पनि उत्तिकै गर्थे। उनीहरूले बास्केटबल र बक्सिङ धेरै खेल्थे। 

यस्तै, छिमेकीले दिएको कुकुर(जेग्स) उनीहरूको बचपनको साथी थियो। शक्तिशाली आँधीमा उनीहरूको परिवार विस्थापित भयो। "त्यही आँधीमा सेतो रङको जेग्स बेपत्ता भयो," ल्यारी सम्झिन्छन्, "हामी उसलाई निकै माया गर्थ्याैँ।"

उनीहरूले सानै उमेरदेखि संघर्ष गर्न सिके। आफै काम गरेर पढाइखर्च निकाल्थे। किशोरावस्था कटिसकेपछि पनि उनीहरू एउटै खाले कपडा लगाउँथे तर पछि यसरी अरुको ध्यान तान्न उचित होइन ठाने।

कोरियाली युद्धका बेला तीनैजनाले वायु सेनामा भर्ना हुन आवेदन दिए। लोन र जेन भर्ती भए तर ल्यारी भने दमका कारण छनोट भएनन्। 

युद्धताका वायु सेनामा सेवापछि जेन इलेक्ट्रिकल इन्जिनियरिङ बढ्न क्याम्पस भर्ना भए। पछि उनले फिलिप पेट्रोलियम कम्पनीमा काम गरे र त्यहीँबाट अवकास पाए।

लोन ‘ब्याप्टिस्ट मिनिस्टर’ बने। उनैले ल्यारी र जेनको बिहे गराए। ल्यारीले बोइङ कम्पनीमा छोटो समय काम गरे। त्यसपछि आफ्नो सेवानिवृत्तसम्म केन्सास शहरमा जेनरल मोटर्स कम्पनीमा काम गरे।

अहिले ल्यारी, लोन र जेनको आ–आफ्नै परिवार छ। ल्यारीका तीन सन्तान र ८ नातिनातिना र १२ पनातिपनातिना छन्। चार सन्तानका बाउ लोनले ६ नातिनातिना र तीन पनातिपनातिना देखिसकेका छन्।

यस्तै, जेनको दुई सन्तान, ६ नातिनातिना र १० पनातिपनातिना छन्। 

ल्यारी र लोन ज्येष्ठ नागरिक स्याहार केन्द्रमा मिसौरीमा बस्छन्। जेन भने ओक्लाहोमा बस्दै आएका छन्।

आफूहरू यति धेरै वर्षसम्म बाँच्नुको रहस्यबारे ल्यारी भन्छन्, "हामीले धुम्रपान, मध्यपान र नसा कहिल्यै गरेनौँ।"