जर्मनीमा हिमपातका कारण ७०० उडान रद्द, बस–रेल सेवा स्थगित

जर्मनीको राष्ट्रिय रेलवे कम्पनी ड्युचे बानका अनुसार म्युनिखको केन्द्रीय रेल स्टेसन सोमबारसम्मका लागि बन्द गरिएको छ।

तस्वीर: सीएनएन

भारी हिमपातका कारण जर्मनीको म्युनिख विमानस्थल हुँदै हुने करिब ७६० उडान रद्द गरिएका छन्। 

हिमपातका कारण म्युनिखमा बस, ट्राम र केही रेल सेवासमेत बन्द गरिएको सीएनएनले जनाएको छ। 

जर्मनीको राष्ट्रिय रेलवे कम्पनी ड्युचे बानका अनुसार म्युनिखको केन्द्रीय रेल स्टेसन आगमनका लागि बन्द गरिएको छ। लामो दूरीका अन्य यातायात सेवा पनि स्थगन गरिएको छ। रेल यातायात सोमबारसम्म प्रभावित हुने कम्पनीले जनाएको छ। 

यसबाट ठूलो संख्यामा यात्रुहरू म्युनिखको मुख्य स्टेसनमा अलपत्र परेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। शनिबार, प्रहरीले म्युनिखका जनतालाई अत्यावश्यक नभएसम्म सवारी साधन प्रयोग नगर्न आग्रह गरेको थियो।

दक्षिणी बाभेरियाका केही भागमा मानिसलाई घरबाट बाहिर ननिस्कन भनिएको म्युनिख प्रहरी प्रवक्तालाई उद्धृत सीएनएनले जनाएको छ। 

यसैबीच, बायर्न म्युनिख र युनियन बर्लिनबीच शनिबार हुने भनिएको फुटबल खेल पनि सुरक्षा जोखिम र ट्राफिक अवस्थाका कारण स्थगित गरिएको छ। शनिबार, म्युनिखमा ४४ सेन्टिमिटर हिउँ परेको थियो। जुन सन् १९३३ पछिको डिसेम्बरको पहिलो रेकर्ड भएको सीएनएनले जनाएको हो।