सीपले बदलियो गृहिणीको जीवनशैली

स्विटर बुन्ने ४५ दिनको तालिमले स्थानीय २० जना महिलालाई स्वरोजगार बनाएको हो। उनीहरूले ‘नरेठाँटी होच्यारी महिला उद्यमी’ नामक स्विटर उद्योग नै सञ्चालनमा ल्याएका छन्।

ढोरपाटन– स्विटर बुन्ने तालिम लिएपछि गलकोट नगरपालिकाका महिला उद्यमी बनेका छन्। स्विटर बुन्ने ४५ दिनको तालिमले स्थानीय २० जना महिलालाई स्वरोजगार बनाएको हो।  

उनीहरूले ‘नरेठाँटी होच्यारी महिला उद्यमी’ नामक स्विटर उद्योग नै सञ्चालनमा ल्याएका छन्। साँघुरो ठाउँमा उद्योग सञ्चालन गरिए पनि यसलाई ठूलो बनाउने सोच रहेको महिला उद्यमीकी संयोजक धनमाया खड्काथोकीले बताइन्। 

गलकोट–२ नरेठाँटीकी ५१ वर्षीया सावित्रा कार्की हिजोआज घर छेउको स्विटर उद्योगमा भेटिन्छिन्। दुई वर्ष अगाडिसम्म पशुचौपाया पाल्ने, खेतीपाती गर्ने र अरूको काम गरेर गुजारा चलाउने सावित्रा अहिले आफ्नै उद्योगमा मालिक बनेर काम गरिरहेकी छन्। उनीसँगै नरेठाँटीका सातजना महिला यही उद्योगमा काम गर्छन्। उद्योग सञ्चालनमा आएपछि अहिले सातै जनाले अरूको काममा भर पर्नु पर्दैन। दैनिकी र जीवनस्तर बदलिँदै गएको सावित्राले बताइन्। 

सावित्राले पाँच दशक बढी चुलोचौको र मेलापातमा बिताइन्। ५० नाघेपछि उद्यमी बन्दा उनी खुशी छिन्। कुनै सीप नहुँदा जीवनकालमा निकै कष्टकर दिन बिताएको सम्झना सावित्राको मानसपटलमा अझै ताजा छ। काममा व्यस्त हुन थालेपछि पुराना दिनलाई बिस्तारै भुल्दै गएको सावित्रीको भनाइ थियो। उद्योगमा हरेक दिन आफू जस्तै महिलाले काम गर्ने भएकाले दैनिकी सहज बन्दै गएको उनले बताइन्। 

गलकोट–२ को वडा कार्यालय नजिकै रहेको स्विटर उद्योगमा केही १८–२० वर्षका युवती छन्। कोही पाका महिला छन्। युवादेखि पाकासम्मका महिलालाई उद्यमसँग जोड्न नगरपालिकाले भूमिका खेलेको छ। पालिकाले तालिम दिएर सीप सिकाएपछि महिला उद्यमी बनेका हुन्। 

“पहिले अरूको काम गर्नुपर्थ्यो। अरूको काम गरेर पैसा पाउन निकै गाह्रो हुन्थ्यो। परिवारको खर्चका लागि मेलापात गर्नुको विकल्प थिएन,” उनले भनिन्, “अहिले सीप सिकेपछि दुई/चार पैसा कमाउन गाह्रो छैन। आफैँ कमाउने भएका छौँ।”

महिला उद्यमीकी संयोजक खड्काथोकीले महिला तथा पुरुषका लागि स्विटर, विद्यार्थीका लागि पोसाक, गलबन्दी, टोपीलगायत सामग्री उत्पादन गरिरहेको बताइन्। आफूहरूको उत्पादन बाहिरबाट आउने कपडाभन्दा गुणस्तरीय सस्तो रहेको उनको दाबी छ। 

व्यवसाय सञ्चालन गरेको एक वर्षमै धेरै ठाउँबाट उत्पादनको माग आएको भन्दै मागअनुसार पुर्‍याउन नसकेको खड्काथोकीले जानकारी दिइन्। पहिले अरूको काम गर्दा दिनको ५०० रुपैयाँ कमाउने गरेकामा अहिले एक हजारदेखि एक हजार २०० रुपैयाँसम्म आम्दानी हुने गरेको छ।

सोही ठाउँकी सुस्मिता नेपालीले आर्थिक अवस्था कमजोर भएकाले १० पढ्दापढ्दै पढाइ छाडिन्। त्यसपछि स्विटर बुन्ने तालिम लिएकी उनले पनि अन्य महिलासँग मिलेर उद्यम शुरू गरेकी छन्। उद्यमले अहिले आर्थिक अवस्था सुधार हुँदै गएको उनले सुनाइन्।

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले गृहिणीलाई तालिम दिएर उद्यमी बनाइएको बताए। गृहिणी विदेश पलायन हुन थालेपछि उनीहरूलाई गाउँमा नै रोक्न सीप सिकाएर व्यवसायसँग जोडेको उनको भनाइ छ।

नगरपालिकाले तालिमसहित करिब सात लाख बराबरको मेसिन सहयोग गरेको र उद्योगका लागि घर पनि पालिकाले नै व्यवस्थापन गरिदिएको छ।