कोशीका मुख्यमन्त्री कार्कीले मन्त्रीहरूलाई दिए जिम्मेवारी

मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश प्रमुख खापुङले मन्त्रीहरू शमशेर राई, गणेशप्रसाद उप्रेती र कमलप्रसाद जबेगूको कार्यविभाजनसहित जिम्मेवारी तोकेका छन्।

काठमाडौँ– कोशी प्रदेशका तीन मन्त्रीलाई जिम्मेवारी तोकिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आइतबार तीन मन्त्रीलाई जिम्मेवारी दिएका हुन्।

मुख्यमन्त्री कार्कीको सिफारिसमा बिहीबार प्रदेश प्रमुख परशुराम खापुङले मन्त्रीहरू शमशेर राई, गणेशप्रसाद उप्रेती र कमलप्रसाद जबेगूको कार्यविभाजनसहित जिम्मेवारी तोकेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जनाए।

नेपाली कांग्रेसबाट मन्त्री बनेका राईलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ। नेकपा माओवादीबाट मन्त्री भएका उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका जबेगूले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। नियुक्त भएको लामो समयपछि मन्त्रीहरूले मन्त्रालयको जिम्मेवारी पाएका हुन्।

मन्त्रीहरू नियुक्त गर्न बाँकी रहेकाले अन्य मन्त्रालयहरूको जिम्मेवारी मुख्यमन्त्री कार्कीले आफैँसँग राखेका छन्। उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय, खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको आफू मातहत राखेका हुन्।

केन्द्र सत्तारूढ गठबन्धनले गरेको निर्णयविपरीत कार्की कांग्रेसका आठ र नेकपा एमालेका ३९ सांसदको समर्थनमा असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। तर उनले एमालेसहित सत्तारूढ गठबन्धनको पनि विश्वासको मत पाएका थिए।

सत्ता गठबन्धनले पनि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिएपछि एमाले असन्तुष्ट बनेको थियो। सहमतिअनुसार मुख्यमन्त्री कार्की अघि नबढेको आरोप लगाउँदै एमालेले सरकार छाड्ने निर्णय गरेसँगै एमालेबाट मन्त्री बनेका रामबहादुर रानाले कात्तिक १८ गते राजीनामा दिएका थिए।