कोप–२८ मा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री दाहाल दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्र संघीय सम्मेलन (कोप–२८) मा सहभागी भएर स्वदेश फर्किएका छन्।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन्। प्रधानमन्त्री दाहाल दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्र संघीय सम्मेलन (कोप–२८) मा भाग लिएर आइतबार अपराह्न स्वदेश फर्किएका हुन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरूले स्वागत गरेका थिए।

शनिबार सम्मेलनलाई सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनमा नेपालले अन्याय भोग्नुपरेको उल्लेख गर्दै सो अवस्थाका अन्त्य गर्नुपर्ने बताएका थिए। उनले हिमाल जोगाउन र विश्वका मानव जातिको रक्षाका लागि जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोग गर्न पनि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका थिए।

सम्मेलनमा उनले विभिन्न देशका समकक्षीहरूसँग द्विपक्षीय भेटवार्ता पनि गरेका थिए। प्रधानमन्त्री दाहाल गत मंसिर १३ गते सो सम्मेलनमा लिन दुबई प्रस्थान गरेका थिए।