छुट्टाछुट्टै स्थानमा पाँच जना मृत फेला

देशका विभिन्न स्थानमा आइतबार पाँच जना मृत अवस्थामा फेला परेका छन्।

काठमाडौँ– देशका विभिन्न स्थानमा आइतबार पाँच जना मृत अवस्थामा फेला परेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार भक्तपुर, ललितपुर, दाङ, कञ्चनपुर र झापाका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला परेका हुन्।

भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ बोडेस्थित प्रयोगमा नरहेको सार्वजनिक शौचालयको पेटीमा दोलखा काटाकुटी गाउँपालिका–२ घर भएका ४१ वर्षीय नीमा लामा आइतबार मृत अवस्थामा फेला परेका हुन्। उनी बोडे क्षेत्रमा मजदुरी काम गर्दै उक्त पेटीमा बस्दै आएको प्रहरीले जनाएको छ।

यसैगरी दाङको घोराही उपमहानगरपालिका–१७ स्थित सिस्ने खोलामा सोही उपमहानगरपालिका–१७ घनिबगिया बस्ने ६० वर्षीय हिरालाल चौधरी मृत अवस्थामा फेला परेको जनाइएको छ।

कञ्चनपुर बेल्डाँडी गाउँपालिका–१ नवज्योति टोल बस्ने ४७ वर्षीया रूपा सुनार आफ्नै घरमा मृत अवस्थामा फेला परेको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

ललितपुर ललितपुर महानगपालिका–२५ भैँसेपाटी ओकाथली डेरा गरी बस्ने झापा घर भएकी ४० वर्षीया एलिना राई आफू बस्ने कोठाको बाहिर पट्टिको शौचालयमा मृत अवस्थामा फेला परेकी छन्।

झापा गौरादह नगरपालिका–४ डोरामारी बस्ने ७५ वर्षीय जयप्रसाद सङ्ग्रौला गौरादह नगरपालिका–४ र गौरादह नगरपालिका–६ को सिमानामा पर्ने दामुना खोलामा आइतबार मृत अवस्थामा फेला परेका छन्। यी सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।