मन्त्रिमण्डल पुनर्गठनबारे सोचेका छैनौँ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिमण्डल पुनर्गठनबारे गठबन्धनभित्र छलफल नै नभएको बताएका छन्।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल पुनर्गठनबारे आफूले सोच विचार नै नगरेको बताएका छन्। प्रधानमन्त्री दाहाल दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्र संघीय सम्मेलन (कोप–२८) मा भाग लिएर आइतबार अपराह्न स्वदेश फर्किएका हुन्।

मन्त्रिपरिषद् पुनर्गठन हुने भन्ने चर्चा चलिरहेका बेला त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूले मन्त्रिमण्डल पुनर्गठनबारे नसोचेको बताए। उनले मन्त्रिमण्डल पुनर्गठनबारे गठबन्धनभित्र छलफल नै नभएको दाबी गरे। उनले मन्त्रिमण्डल पुनर्गठन बाहिर हल्ला फिँजाउनका लागि मात्रै भएको उल्लेख गरे।

“सरकार गठन भएको बेलादेखि नै मन्त्रिमण्डल पुनर्गठन हुन्छ, को मन्त्री हट्छ, को आउँछ, गृहमन्त्री हट्ने भन्ने कुरा धेरै भयो। तर अहिले कुनै त्यस्तो हामीले गठबन्धनभित्र छलफल गरेका छैनौँ। सोचिएको पनि छैन, म आफैँ प्रधानमन्त्री छु, मेरो दिमागमै छैन। त्यसकारण यो कुरा हल्ला मात्रै हो, सत्यता छैन।”

प्रधानमन्त्री दाहाल दुबई भ्रमणमा जाने क्रममा ३१ जना यात्रुहरू छुटेकोप्रति दुःख व्यक्त गरे। “यदि मलाई दुई २ घण्टा अघि सारिँदै छ र त्यसो गर्दा ३१ जना यात्रु छुट्दै छन् भन्ने थाहा भएको भए म दुई घण्टा छिटो जाँदिन थिएँ, जुन समय हो त्यही समयमा जान्थेँ। उहाँ पुगेपछि मेरो कारणले दुई घण्टा छिटो ल्याउन खोज्दा छुटेको भन्ने थाहा पाएँ,” उनले भने।

प्रधानमन्त्री दाहालले समग्रमा कोप२८ मा नेपालका तर्फबाट महत्त्वपूर्ण प्रस्ताव र मुद्दा उठाएको बताए। 

शनिबार सम्मेलनलाई सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनमा नेपालले अन्याय भोग्नुपरेको उल्लेख गर्दै सो अवस्थाका अन्त्य गर्नुपर्ने बताएका थिए। उनले हिमाल जोगाउन र विश्वका मानव जातिको रक्षाका लागि जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोग गर्न पनि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका थिए।

सम्मेलनमा उनले विभिन्न देशका समकक्षीहरूसँग द्विपक्षीय भेटवार्ता पनि गरेका थिए। प्रधानमन्त्री दाहाल गत मंसिर १३ गते सो सम्मेलनमा लिन दुबई प्रस्थान गरेका थिए।