हुम्लाको सदरमुकाम सिमकोटमा यो वर्षकै पहिलो हिमपात

माैसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

तस्वीर: रासस

काठमाडाैँ– हुम्लाको सदरमुकाम सिमकोटमा यो वर्षकै पहिलो हिमपात भएको छ। सिमकोटमा गय रातिदेखि हिमपात भइरहेको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले बताए।

अहिले हुम्लामा तापक्रम माइनस २ डिग्री सेल्सियसमा पुगेको छ। हिमपातसँगै त्यहाँकाे जनजीवन कष्टकर बनेको छ। स्थानीयवासी घरबाट बाहिर निस्किन सकेका छैनन्।

हाल देशमा भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। यही वायुका कारण हिमाली क्षेत्रमा हिमपात गराएको हो।

महाशाखाका अनुसार सोमबार लुम्बिनी लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ। यस वायुको प्रभावले रातिसम्म हिमपात गराउने महाशाखाले जनाएको छ।