इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ आरोहीको मृत्यु, १२ बेपत्ता

इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विष्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु भएको छ भने १२ जना आरोही बेपत्ता भएका छन्।

काठमाडौँ– इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विष्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु भएको छ भने १२ जना आरोही बेपत्ता भएका छन्।

स्थानीय अधिकारीहरूका अनुसार आइतबार पश्चिम सुमात्रामा ज्वालामुखी विस्फोट हुँदा उक्त क्षेत्रमा ७५ जना आरोही थिए। उनीहरूमध्ये २६ जनालाई बाहिर निकालिएको थिएन। 

"त्यहाँ २६ जना छन् जसलाई बाहिर निकालिएको छैन, हामीले तीमध्ये १४ जनालाई फेला पारेका छौं, तीन जीवित र ११ मृत फेला परेका छन्," पडाङ खोज र उद्धार एजेन्सीका प्रवक्ता जोडी हर्यावनले भनेका छन्। 

आइतबार भएको विस्फोटको भिडियो फुटेजमा ज्वालामुखीको खरानीको ठूलो बादल आकाशमा फैलिएको तथा कार तथा सडक भग्नावशेषले ढाकेको देखाइएको छ। अल जजिराका अनुसार सोमबार एउटा सानो विस्फोटका कारण उद्धारकर्मीहरूलाई आफ्नो उद्धार अभियान स्थगित गर्नुपरेको थियो।

इन्डोनेसिया प्रसान्त महासागरको तथाकथित 'रिङ अफ फायर'मा अवस्थित छ। त्यहाँको ज्वालामुखी एजेन्सीका अनुसार यस क्षेत्रमा १२७ वटा सक्रिय ज्वालामुखीहरू रहेका छन्।