अहिलेको सरकार चीनको सहयोग लिन डराउँछः ओली

चीन सरकारले कुनै पनि कुरामा नेपाललाई सहयोग गर्ने भनिरहँदा पनि अर्को शक्तिका कारण वर्तमान सरकार सहयोग लिनबाट डराउने गरेको उनले बताए।

काठमाडाैँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताएका छन्।

सोमबार झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा ओलीले दैलेखमा आठ राजनीतिक दलहरूले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै यस्तो बताएका हुन्। उनले चीन सरकारले कुनै पनि कुरामा नेपाललाई सहयोग गर्ने भनिरहँदा पनि अर्को शक्तिका कारण वर्तमान सरकार सहयोग लिनबाट डराउने गरेको बताए। उनले राजनीतिक दलले अब राजनीतिक कुरा गरेर मात्र नहुने र विकासका लागि राजनीति गर्नुपर्ने बताए।

"अहिलेको सरकारले चीनको सहयोग लिन सक्दैन, किनभने डराउँछ। चीनसँग डराएको होइन, अरु कोकोसँग कहाँकहाँ डराउँछ, " उनले भने, "अबका राजनीतिक दलहरूले पोल्टिक्स मात्रै गरेर हुँदैन। विकासका नेता हुनुपर्दछ। उनीहरूले विकासको बारेमा जानकारी राख्नुपर्छ। कसरी विकास हुनसक्छ, के हुनसक्छ यस्ता कुरालाई लिएर हामीले सोच्नुपर्छ।"

यस्तै उनले व्यापार घाटा बढेको भन्दै निर्यात बढाउनुपर्ने बताए। बाहिरबाट सामान ल्याएर त्यसैलाई निर्यात गर्ने गरेको उनको भनाइ छ। "हामीसँग निर्यात गर्ने वस्तु उत्पादन नै छैन। हाम्रो निर्यात भनेको धेरैजसो नक्कली निर्यात छ। बाहिरबाट सुपारी ल्याउने निर्यात गर्ने। नक्कली निर्यातलाई घटाउने हो भने सक्कली निर्यात वास्तवमा अत्यन्तै कम छ," उनले भने।