मूत्र प्रणाली र पित्तथैलीमा हुने पत्थरीको समस्या लिएर अस्पताल जाने बढेका छन्। पित्तथैलीमा पत्थरी भए शल्यक्रिया नै गर्नुपर्ने हुन्छ। यद्यपि, खानपानमा ध्यान दिए जोखिम कम हुने चिकित्सकहरू बताउँछन्।
काठमाडौँ– पाँच वर्षदेखि वैदेशिक रोजगारीमा रहेका पोखरा विजयपुरका हरिशरण खड्का (३४) बिदा मनाउन नेपाल आएका थिए। काठमाडौँ आइपुगेको भोलिपल्ट गत भदौ ६ गते साँझ उनलाई पेट दुख्न थाल्यो। ज्वरो पनि आयो। तत्काल वीर अस्पतालको आकस्मिक कक्षमा पुर्याइएपछि स्लाइनमार्फत औषधि दिएर दुखाइ कम गराइयो। डाक्टरले पेनकिलर दिएर घरै जान भने।
उनकी श्रीमती बिनाका अनुसार भोलिपल्ट हरिशरणको स्वास्थ्य अवस्था झन् बिग्रियो। “ज्वरो घटेन, पेटको दुखाइ झनै बढ्यो। पिसाब गर्दा रगत देखियो। दुखाइ सहन नसकेपछि उहाँलाई भोलिपल्ट फेरि अस्पताल ल्याइयो,” बिनाले भनिन्, “विभिन्न परीक्षण गरिसकेपछि पत्थरी भन्ने थाहा भयो।” हरिशरणको दायाँ मिर्गौलामा एउटा र पिसाब थैलीमा दुई वटा ढुंगा छन्।
काठमाडौँ बुढानीकण्ठकी चित्रुमाया गुरुङ (५८) लाई करिब तीन महिनाअघि पिसाब फेर्न समस्या भयो। पिसाब लागे पनि फेर्न गाह्रो हुन्थ्यो। यही क्रम चार–पाँच दिन चल्यो। अनि, स्वास्थ्यजाँचका लागि जाँदा दुवै मिर्गौलामा पत्थरी भएको पत्ता लाग्यो। “दुवै मिर्गौलामा देखिएका पत्थरी साना भएकाले पर्याप्त मात्रामा पानी पिए पिसाबबाटै निस्कन्छ भनेर डाक्टरले भन्नुभएको छ। पत्थरी गएको छ कि छैन थाहा पाउन केही समयपछि फेरि फलोअपमा बोलाउनुभएको छ,” उनले भनिन्।
काठमाडौँकै सीतापाइला बस्दै आएकी गौलोचना श्रेष्ठ (४६)ले आफूलाई ग्यास्ट्राइटिस भएको आशंकामा जचाउन अस्पताल गएकी थिइन्। तर उनलाई पत्थरी भएको पत्ता लाग्यो। श्रेष्ठ भन्छिन्, “मनमोहन अस्पताल गएपछि डाक्टरले भिडियो एक्सरे गर्न भन्नुभयो। पित्तथैलीमा पत्थरी भएको थाहा भयो। त्यसलाई हटाउन शल्यक्रिया गर्नुपर्ने रहेछ। मिति लिएर पालो पर्खिरहेकोे छु।”
टेकुकी शोभा कंसाकार (३२) पेट दुख्न थालेपछि अस्पताल पुगेकी थिइन्। उनको मिर्गाैमा तीन वटा पत्थरी पत्ता लाग्यो। उनी पनि शल्यक्रियाकै पर्खाइमा छिन्।

हरिशरण, चित्रुमाया, गौलोचना र शोभाजस्तै पत्थरी भएर अस्पताल धाउने धेरै भेटिन्छन्। मिर्गौला, पित्तथैली, पिसाबथैली वा पिसाब नलीमा प्रायः पत्थरी हुन्छ। पत्थरीका बिरामी बढ्दै गए पनि नयाँनयाँ प्रविधिको विकासले शल्यक्रिया सहज भइरहेको महाराजगञ्जस्थित चिरायु अस्पतालका डा. विजन श्रेष्ठ बताउँछन्।
डा. श्रेष्ठका अनुसार धेरै चिल्लो भएका खानेकुरा र ‘फास्ट फुड’ खाँदा पित्तथैलीमा पत्थरीको सम्भावना धेरै हुन्छ। उनी भन्छन्, “आजभोलि मानिस इन्टरनेटको प्रयोग धेरै गर्छन्। इन्टरनेटमा लक्षणहरू खोजेर उपचार गर्न तुरुन्तै अस्पताल आउँछन्। यस कारण बिरामीको चाप पनि बढेको छ।”
मूत्र प्रणालीमा हुने पत्थरीको समस्या लिएर आउनेको संख्या धेरै रहेको वीर अस्पतालका डा. रविनबहादुर बस्नेत बताउँछन्। मूत्र प्रणालीका अंक मिर्गौला, मूत्र थैली र मूत्र नलीमा पत्थरी हुनसक्छ। तर प्रविधिको विकासले उपचार तुलनात्मक सहज भएको उनको भनाइ छ।
“सेवा तथा सुविधाको उपलब्धता बढेसँगै मूत्र प्रणालीमा ढुंगाको प्रारम्भिक निदान सहज भएको छ। पत्थरीको समस्या लिएर प्रारम्भिक चरणमा नै बिरामीहरू जचाउन आउने गरेका छन्। जस कारण ठूलोभन्दा साना पत्थरीको समस्या धेरै देख्न सकिन्छ,” डा. बस्नेत भन्छन्।
कसरी हुन्छ मूत्र प्रणाली र पित्त थैलीको पत्थरी?
येल मेडिसिनमा प्रकाशित लेख (२०२३ अप्रिल १९) अनुसार मिर्गौलामा हुने पत्थरीे क्याल्सियमजस्ता खनिजबाट बनेका साना ढुंगा हुन्। प्रोटिन निर्माण र त्यसबाट शरीरले शक्ति प्राप्त गर्ने प्रक्रियाको परिणामस्वरूप उत्पादन भएको अधिक नुन, खनिज र फोहोरहरूलाई पिसाबले सामान्यतः फिल्टर गर्छ। तर जब धेरै फोहोर हुन्छ र त्यसलाई पातलो गर्न पर्याप्त तरल हुँदैन, क्रिस्टलहरू विकास भई अन्य तत्वहरूसँग मिलेर पत्थर बन्छ।
यस्ता पत्थर मिर्गौलाबाट पिसाबथैली र पिसाब फेर्ने नलीमा समेत जम्मा हुन्छन्। पुरुषहरूमा बुढेसकालमा प्रोस्टेट ठूलो भएपछि पिसाब जमेर पिसाबथैलीमा पत्थरी हुन सक्छ। त्यसैगरी कुपोषण भएका बालबालिकाको पिसाबथैलीमा ढुंगा बन्न सक्छ।
हेल्थलाइनमा प्रकाशित लेख (२०२१ अक्टोबर ५) अनुसार पित्तथैली पेटको दायाँ भागमा कलेजोको ठीक तल रहेको हुन्छ। यसले पित्त (पाचनमा मद्दत गर्ने हरियो–पहेँलो तरल पदार्थ) भण्डार गर्छ। पित्तनलीलाई पत्थरीले रोकेपछि समस्या देखिने गर्छ। पित्तमा पाइने कोलस्ट्रोल वा बिलिरुबिन जस्ता पदार्थ कडा हुँदा पत्थरीमा परिणत हुन्छ। पित्तथैली भरिएपछि त्यहाँको पित्त बाहिरिन नपाई जमेर पत्थरी बन्न सक्छ।
पत्थरीका लक्षण के के हुन्?
नेशनल किड्नी फाउन्डेसनमा प्रकाशित लेखअनुसार मिर्गौलामा बन्ने कतिपय पत्थरी बालुवाको दाना जत्तिकै साना हुन्छन्। केही गल्फ बलजस्तै ठूला पनि हुन्छन्। जति ठूलो पत्थरी हुन्छ, त्यति नै लक्षणहरू देखिन्छन्। चिकित्सकहरूका अनुसार मिर्गौलाको पत्थरी हुँदा तल्लो ढाडको दुवै छेउ दुख्ने, पिसाबमा रगत देखिने, वाकवाकी लाग्ने, ज्वरो आउने, पिसाबबाट रगत आउनेलगायत लक्षण देखिन्छ।
हेल्थलाइनमा प्रकाशित लेख (२०२३ फेब्रुअरी १४) अनुसार पित्तथैलीको पत्थरी हुँदा पेटको माथिल्लो दाहिने भाग वा केन्द्रमा दुख्छ। धेरै चिल्लो वा बोसो भएका खानेकुरा खाएपछि पित्तथैली दुख्न सक्छ। सामान्यतः केही घण्टा मात्र दुखाइ रहे पनि गम्भीर हुन सक्छ।
पित्तथैलीको पत्थरीलाई उपचार नगरिएको वा पहिचान नगरिए शरीरको तापक्रम बढ्ने, मुटुको धड्कन बढ्ने, छाला र आँखाको सेतो भाग पहेँलो हुने, छाला चिलाउनेलगायत लक्षण देखिन्छन्। अमेरिकन कलेज अफ ग्यास्ट्रोएन्टेरोलोजीका अनुसार पित्तथैलीमा पत्थरी भएका करिब ८० प्रतिशत मानिसहरूले दुखाइ वा लक्षणहरू लामो समयसम्म अनुभव गर्दैनन्। यो अवस्थाहरूमा डाक्टरले अल्ट्रासाउन्ड वा अन्य जाँच गर्दा पत्ता लगाउन सक्छन्।
कसरी हुन्छ उपचार?
वीर अस्पतालका डा. बस्नेतले पत्थरीको आकार, प्रकृति र बसेको स्थानको आधारमा उपचार योजना बनाइने बताए। उनले भने, “मूत्र प्रणालीको पत्थरी १५ एमएमको भए निर्धारित औषधि र प्रशस्त पानी पिएर हटाउन सकिन्छ। नभएमा शल्यक्रिया गर्नुपर्ने हुन्छ। पत्थरीको आकार, प्रकृति र त्यो कहाँ बसेको छ भन्ने थाहा पाएपछि शल्यक्रिया न्यूनतम आक्रामक वा ओपन हुन सक्छ।”
चिरायु अस्पतालका डा. श्रेष्ठले पित्तथैलीकोे पत्थरीको उपचार शल्यक्रिया मात्र भएको बताए। “यद्यपि, पित्तथैलीको पत्थरीको आकार र अवस्थित ठाउँले शल्यक्रियाको प्रकार निर्धारण गर्छ। तर शल्यक्रियाको विकल्प छैन,” उनले भने।
कसरी बच्ने?
वीर अस्पतालका डा. बस्नेतका अनुसार खानेकुरामा ध्यान दियो भने मूत्र प्रणालीमा पत्थरीको जोखिम कम हुन्छ। प्रशस्त पानी पिउने, क्याल्सियमयुक्त खानेकुरा खाने, हरियो सागसब्जी प्रशस्त खाने गर्नुपर्छ। नुनको सेवन, रातो मासु, कुखुरा, अण्डा र समुद्री खाना भने कम खानुपर्छ।
चिरायु अस्पतालका डा. श्रेष्ठका अनुसार नियमित रूपमा सामान्य कसरत गरेर स्वस्थ तौल कायम राख्दा र खानपानमा ध्यान दिँदा पित्तथैलीको पत्थरीको जोखिम कम गर्न सकिन्छ। फलफूल, तरकारी, सिमी र मटरजस्ता फाइबरयुक्त खानेकुरा बढी खाने, खैरो चामल, ओट्स र गहुँको रोटी खाने, कार्बोहाइड्रेट भएका खाना र चिनी कम खाने गर्दा पित्तथैलीको जोखिम कम हुन्छ। त्यसैगरी, माछा वा जैतुनको तेल खाने र ‘जंक फुड’ तथा ‘फास्ट फुड’ नखाने बानी गर्नुपर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
