माथिल्लो मुगुम र रारा क्षेत्रमा हिमपात, दैनिक उपभोग्य वस्तु अभावको चिन्ता

अत्यधिक पानी र हिउँका कारण सडक अवरुद्ध भई दैनिक उपभोग्य वस्तुका साथै अन्य निर्माण सामग्री अभाव हुन्छ कि भन्ने चिन्ता बढेको मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढा बताए।

मुगु– हिमाली जिल्ला मुगुका विभिन्न उच्च स्थानमा यस वर्षको शुरूआती हिमपात हुन थालेको छ। आइतबार रातिबाट बदली हुँदै गए पनि सोमबार बिहानैदेखि उच्च भूभागमा हिउँ र बेँसीमा पानी पर्न शुरू गरेको हो।

मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने यार्सा पाटन, कोइकी हिमाल मुगु र डोल्फु क्षेत्रमा हिमपात शुरू भएको डोल्फु गाउँका नेग्मा सेराव लामाले जानकारी दिए। उनका अनुसार प्रमुख पर्यटकीय क्षेत्र रारा र मुर्माटपमा पनि बिहानैदेखि हिउँ पर्न शुरू भएको र चिसो असाध्यै बढेको छ।

रारा घुम्न आएका पर्यटन हिमपात तथा पानीले हवाई र स्थल मार्ग बन्द हुनसक्ने भन्दै बिहानै यहाँबाट घरतर्फ जान तरखर गरेका रारा राष्ट्रिय निकुञ्जका रेन्जर हिमाली खत्रीले जानकारी दिए। जिल्लाका अन्य क्षेत्र बुलबुले, सात ताल, दूधताल, चन्खेली, बाम, रिणिमोक्क्ष, खेस्मालिका, सोरुकोटमा पनि हिउँ पर्न सुरु गरेको खबर प्राप्त भएका उनले बताए।

सदरमुकाम गमगढीमा पानी पर्न शुरू गरेको छ। अत्यधिक पानी र हिउँका कारण सडक अवरुद्ध भई दैनिक उपभोग्य वस्तुका साथै अन्य निर्माण सामग्री अभाव हुन्छ कि भन्ने चिन्ता बढेको मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढा बताए।

पानी र हिमपात हुन थालेपछि हिउँदे बाली गहुँ, जौ र नाफल खेती राम्रो हुने, हिमाली यार्सा, जडीबुटी वृद्धि हुनुका साथै गुणस्तरीय हुने किसान तथा जडीबुटी व्यापारीको भनाइ छ।