हात्तीको आक्रमणबाट मोरङमा साइकलयात्रीको मृत्यु

केही दिनयता मोरङ, सुनसरी र झापाका विभिन्न स्थानमा हात्तीको आक्रमणमा परी चार जनाले ज्यान गुमाइसकेका छन्।

विराटनगर– मोरङको बेलबारीमा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ। बेलबारी नगरपालिका–१० भाउन्ने भन्ने स्थानमा जंगली हात्तीको आक्रमणमा परी लेटाङ–३ का ५३ वर्षीय कमल माझीको मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थानीय सिर्जना सामुदायिक वन क्षेत्रमा साइकलमा यात्रा गरिरहेका उनलाई हात्तीले आक्रमण गरेको थियो। घरबाट लक्ष्मीमार्ग बजारतिर जाने क्रममा उनीमाथि हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ। केही दिनयता मोरङ, सुनसरी र झापाका विभिन्न स्थानमा हात्तीको आक्रमणमा परी चार जनाले ज्यान गुमाइसकेका छन्।

यसअघि सुनसरीको इटहरी–२ स्थित शान्तिझोडाको बुढासुब्बा चोकमा बिहीबार राति हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भयो। जंगली हात्ती मानव बस्तीमा प्रवेश गर्न लागेपछि राति हात्ती खेदाएर घर फर्किने क्रममा २५ वर्षीय रविन खड्कालाई हात्तीले आक्रमण गरेको थियो। उपचारका क्रममा धरान घोपाक्याम्पमा मृत्यु भएको थियो।

त्यसअघि झापाको हल्दिबारीस्थित रणकाली सामुदायिक वनका चौकीदार धनबहादुर वनको जंगली हात्तीले कुल्चेर मृत्यु भएको थियो। हल्दीबारी गाउँपालिका–३ स्थित रणकाली सामुदायिक वनका चौकीदार ४० वर्षीय वन शुक्रबार हात्तीको आक्रमणबाट मुत्यु भएको हो।

एक साताअघि दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा जंगली हात्तीले आक्रमण गर्दा ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको थियो।

जंगली हात्ती बस्ती प्रवेश गरी घर भत्काइदिने र बालीनाली एवं घरमा भएका अन्न खाइदिने गरिरहेका स्थानीयले बताएका छन्। कतिपय गाउँमा हात्ती धपाउन स्थानीय बासिन्दाले रात्रि गस्ती पनि गरिरहेका छन्।